काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली)मा ट्राफिक नियम उल्ल्लंघन गर्ने ९०६ जनालाई कारबाही गरेको छ। सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ६८ स्थानहरुमा चेक प्वाइन्ट राखेर बिहानदेखि जाच गरेको ट्राफिकले ९०६ जनालाई कारबाही गरिएको जानकारी दिएको हो।
होलीमा काठमाडौं उपत्यकामा १३ सयभन्दा बढी ट्राफिक परिचालन गरिएको थियो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको जानकारी दिए।
'बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ,' एसएसपी जोशीले भने, 'बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही र होल्ड गरिएको छ।'
उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकल हुईक्याउने, मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी बढाई कडाईका साथ कारबाहि गरिएको पनि महाशाखाले जनाएको छ।