काठमाडौं- सरकारले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई कायममुकायम प्रधानसेनापतिमा बढुवा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई भावी प्रधानसेनापतिका रूपमा कायममुकाम जिम्मेवारी दिएको हो।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले २५ भदौदेखि पदबाट अवकाश पाउँदैछन्। एक महिनाअघि विदा बस्ने सेनाको नियमअनुसार बलाधिकृत रथी थापाले २४ साउनदेखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन्।
थापाको म्याद थप भएको अवधि २०७५ असोज १५ सम्म रहेकाले पनि थापा निर्विकल्प भावी प्रधानसेनापति देखिएका हुन्।
पुष्पकमल दाहाल नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो स्पष्ट भएको थियो। उनको पदावधि ०७४ असोजमा सकिने थियो। तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो।
उनीसँगै बलाधिकृत महतको पनि पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भएका हुन्। उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४