शनिबार, फागुन २३, २०८२

के रुसले युक्रेनमा आणविक आक्रमण गर्न सक्छ?

ट्याक्टिकल आणविक हतियारहरु भनेको सीमित र छोटो दायरामा प्रयोग गरिन्छ। यो रणनीतिक आणविक हतियारभन्दा फरक हुन्छ। शीतयुद्धका बेला दुई महाशक्ति राष्ट्र अमेरिका र रुसले एकअर्कालाई टाढाबाट प्रहार गर्न सक्ने आणविक बम बनाएका थिए।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- युक्रेनमा आक्रमण सुरु गरे लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको आणविक हतियार तैनाथ गर्न आदेश दिए। यसले रुसले सीमित आणविक हतियार वा 'ट्याक्टिकल आणविक हतियार' प्रयोग गर्न सक्ने खतरा पैदा भयो। आणविक युद्ध नभए पनि रुसको उक्त आदेशको भने रणनीतिक अर्थ रहेको छ।

National life

ट्याक्टिकल आणविक हतियारहरु भनेको सीमित र छोटो दायरामा प्रयोग गरिन्छ। यो रणनीतिक आणविक हतियारभन्दा फरक हुन्छ। शीतयुद्धका बेला दुई महाशक्ति राष्ट्र अमेरिका र रुसले एकअर्कालाई टाढाबाट प्रहार गर्न सक्ने आणविक बम बनाएका थिए।

यद्यपि, ट्याक्टिकल हतियारको श्रेणीमा धेरै प्रकारका हतियारहरू छन्, जुन युद्धको मैदानमा प्रयोग गर्न सकिन्छ। यसमा साना बम र मिसाइल पनि पर्छन्।

रूससँग कस्तो प्रकारको रणनीतिक आणविक हतियारहरू छन्?

रुससँग करिब दुई हजार सामरिक आणविक हतियार हुनसक्ने अनुमान गरिएको छ। तिनीहरू विभिन्‍न प्रकारका मिसाइलहरु र सामान्यतया परम्परागत विस्फोटक सामग्री बोक्ने मिसाइलहरुमा तैनाथ गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

यस्ता हतियारहरुलाई युद्ध मैदानमा तोपबाट गोलाजस्तै प्रहार गर्न सकिन्छ। यी हतियारहरू पनि लडाकू विमान र युद्धपोतहरूबाट प्रहार गर्ने सकिने गरी डिजाइन गरिएका छन्। यी रणनीतिक आणविक हतियारहरू रुसको हतियार भण्डारमा रहेको विश्वास गरिन्छ र अझै युद्धभूमिमा तैनाथ गरिएको छैनन्। 

तर, रूस रणनीतिक आणविक हतियारभन्दा ट्याक्टिकल आणविक हतियार प्रयोग गर्नसक्ने चिन्ता बढेको छ। चैटम हाउस थिंकट्यांकको अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमका प्रमुख डा. प्याट्रिसिया लुइस भन्छन्, ‘उनीहरूले यसलाई ठूलो आणविक थ्रेसहोल्डको रूपमा हेर्दैनन्। तर परम्परागत सैन्य हतियारको हिस्साको रुपमा हेर्ने गरेका छन्।’ 

विभिन्‍न ट्याक्टिकल आणविक हतियारहरू फरक क्षमता र आकारहरू छन्। सबैभन्दा सानोमा एक किलोटन (एक हजार टन टीएनटी विस्फोटक बराबर) वा कम क्षमता हुनसक्छ, जबकि सबैभन्दा ठूलो रणनीतिक आणविक हतियार सय किलोटनसम्म हुन सक्छ।

यद्यपि, यस्तो आणविक हतियारको प्रभाव परिस्थितिमा निर्भर हुन्छ। उदाहरणका लागि यो जमिनबाट कति उचाइमा विस्फोट भयो, हतियारको आकार कस्तो थियो र स्थानीय वातावरण कस्तो छ भन्‍ने कुराले यसले पुर्‍याउनसक्ने क्षतिको मूल्यांकन गरिन्छ। 

हिरोशिमामा एक लाख ४६ हजारभन्दा बढी मानिसको ज्यान लिने आणविक बम १५ किलोटनकको थियो। रुससँग रहेको सबैभन्दा ठूलो रणनीतिक आणविक हतियारको क्षमता ८०० किलोटनसम्म रहेको मानिन्छ।

पुटिनको चिन्ताको कारण हो?

राष्ट्रपति पुटिनले रुसको आणविक हतियारको बारेमा पटक-पटक उल्लेख गरिसकेका छन् र यसको एउटा संकेत हो, उनी डरको वातावरण सिर्जना गर्न चाहन्छन्।

अमेरिकी गुप्तचर अधिकारीहरूले यसलाई युक्रेनमा थप हस्तक्षेप नगर्ने र आणविक युद्धको तयारी गर्ने बाटोको रूपमा नभई पश्चिमाहरूको लागि डरको वातावरण सिर्जना गर्न खोजेको संकेतको रूपमा हेरेका छन्। 


तर, अन्य विश्लेषकहरूले भने अत्यन्तै असम्भव भए पनि रूसले निश्चित परिस्थितिहरूमा युक्रेनमा सीमित क्षमताको रणनीतिक आणविक हतियार प्रयोग गर्ने विचार गरिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। 

हार्वर्ड केनेडी स्कूलको बेल्फर सेन्टर फर साइन्स एण्ड इन्टरनेशनल अफेयर्सका आणविक विशेषज्ञ डा. मारियाना बुर्नेले ट्वीट गरेका छन्, ‘पुटिन पश्‍चिमा मुलुकहरु उनको आणविक खतराहरुबाट त्रसित हुन् र आफू सन्तुलित-असन्तुलित संसारमा सहज अवस्थामा रहन सकूँ भन्‍ने देखिन्छ। मानौं नाटो एक अर्बौं डलरको हतियारहरु र शक्ति कागजी शेरबाहेर अरु केही नहोस्।'

रुसको रणनीति

अमेरिकी गुप्तचर अधिकारीहरूले नाटोसँगको द्वन्द्वको अवस्थामा रुसको ‘एस्केलेट टु डि-एस्केलेट’ अर्थात् ‘तनाव कम गर्न तनाव बढाउने’ भन्‍ने नीति रहेको विश्वास गर्छन्।

यस नीतिमा रूसले केही नाटक गर्नेछ, जस्तै युद्ध मैदानमा रणनीतिक आणविक हतियारको प्रयोग वा ठूलो प्रदर्शन वा त्यसको प्रयोग गर्ने धम्की दिने। यसो गर्दा रुसले अर्को पक्षलाई पछि हट्न बाध्य पार्नेछ। यदि पुटिनले युक्रेनमा आफ्नो रणनीति असफल भएको महसुस गरेको अवस्थमा यसअघिको रणनीति परिवर्तन गर्दै रणनीतिक हतियार पनि प्रयोग गर्न सक्छन्। तिनीहरूले हारबाट बच्‍न वा गतिरोध अन्त्य गर्न पनि आणविक हतियार प्रयोग गर्न सक्छन्। त्यस अवस्थामा पुग्‍नुपर्ने अवस्था भने सिर्जना भएको छैन। 

वाशिङ्टनमा अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डाउमेन्टका आणविक विशेषज्ञ जेम्स एक्टन भन्छन्, ‘मलाई चिन्ता छ कि पुटिनले ती परिस्थितिहरूमा परमाणु हतियार प्रयोग गर्न सक्छन्। उनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने सम्भावना बढी छ। यसो गरेर उनीहरूले मानिसहरूलाई डराएर आफ्नो लागि बाटो खुलाउनेछन्। यद्यपि हामी अहिलेसम्म त्यो स्थितिमा पुगेका छैनौं।’

किङ्ग्स कलेज लन्डनका आणविक विशेषज्ञ डा. हेदर विलियम्स भन्छिन्, 'एउटा समस्या यो हो कि युक्रेनमा पुटिनको जित के हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। यस्तो अवस्थामा रुसले युक्रेनमा कुन अवस्थामा आणविक हतियार प्रयोग गर्ने भन्ने पनि स्पष्ट छैन।'

रुसलाई कस्तो खतरा छ?

पुटिनले युक्रेन रुसको हिस्सा भएको दाबी गरेकाले आफ्नै माटोमा परमाणु बम प्रयोग गर्नु अनौठो लाग्‍न सक्छ। रुस युक्रेनको छिमेकी राष्ट्र भएकाले आणविक हतियारको प्रभाव सीमापार पनि हुनसक्ने प्याट्रिसिया लुइसले बताएकी छन्।

अहिलेसम्म दोस्रो विश्वयुद्धमा आणविक हतियार एक पटक मात्र प्रयोग भएको छ। त्यसपछि अमेरिकाले जापानका सहरहरूमा परमाणु बम खसालेको थियो। प्रश्न यो पनि छ कि पुटिन परमाणु हतियारको प्रयोग पुन: सुरु गर्ने विश्व नेता बन्‍न चाहन्छन्?

केही विश्लेषकहरू पुटिनले अहिलेसम्म ती कामहरु गर्न इच्छुक देखेका छन्, जुन अरुले अनुमान गरेभन्दा फरक छ। चाहे त्यो युक्रेनमाथिको आक्रमण होस् वा सेल्सबरीमा नर्भ एजेन्टको प्रयोग।

डा. विलियम्स भन्छन्, 'रुसले परमाणु हतियार प्रयोग नगर्नुको अर्को कारण हुन सक्छ, चीन। रुस चीनको सहयोगमा निर्भर छ। तर, चीनले पहिले आणविक हतियार प्रयोग नगर्ने नीति अपनाएको छ। यदि पुटिनले रणनीतिक आणविक हतियार प्रयोग गरे भने चीनलाई उनीहरुको साथमा उभिन निकै गाह्रो हुनेछ। पुटिनले आणविक हतियार प्रयोग गरेमा चीनको समर्थन गुमाउनेछन्।’

के आणविक युद्ध हुन्छ?

ट्याक्टिकल आणविक हतियारको प्रयोगले परिस्थिति कता पुग्छ भन्‍ने अहिले कसैलाई थाहा छैन। तनाव बढ्न सक्छ र पुटिनले तिनीहरूलाई प्रयोग गर्न चाहँदैनन्। तर यस्तो अवस्थामा कुनै पनि गल्ती महँगो सावित हुन सक्छ।

प्याट्रिसिया लुइस भन्छिन्, ‘उनीहरूले कल्पना गरिरहेका हुन सक्छन् कि सबै झुक्नेछन्। तर यो यस्तो हुनेछ कि नाटोले प्रतिक्रिया दिन अगाडि आउनु पर्छ।’

अमेरिकाले स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ। रुसको आणविक गतिविधिमाथि निगरानी राख्‍न अमेरिकासँग व्यापक खुफिया नेटवर्क छ। अमेरिकाले रणनीतिक आणविक हतियार भण्डारणबाट बाहिर निकालेको छ कि भन्‍ने र प्रक्षेपण साइटमा कुनै परिवर्तन भए-नभएको जानकारी अमेरिकाले राख्‍नेछ। 

अमेरिकी गुप्तचर अधिकारीहरुले आणविक हतियारको प्रयोग हुनसक्ने डरबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। पुटिन परिस्थितिलाई थप जटिल बनाउन चाहँदैनन् र पूर्ण आणविक युद्ध चाहँदैनन्। जेम्स एक्टनले भने, ‘एकपटक तपाईंले आणविक आक्रमणको थ्रेसहोल्ड पार गर्नुभयो भने रोकिने कुनै ठाउँ बाँकी नरहन सक्छ।' 

(बीबीसीका लागि सुरक्षा संवाददाता गोर्डन कोरेराले तयार पारेको सामग्रीलाई पवन घिमिरेले गरेको अनुवाद।)

प्रकाशित: Mar 17, 2022| 07:25 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।