काठमाडौं– पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्मत प्रक्रियाबाट तय भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कृष्ण समीप सुवेदी, उपाध्यक्षमा कुमार केसी,महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराईली, कोषाध्यक्षमा सुश्मा लोहनी र सह कोषाध्यक्षमा लक्षु प्रकाश मल्ल चयन भएका छन्।
हिजो मंगलबार काठमाडौंको अनामनगरमा आयोजित अधिवेशन सभाले समाजका सदस्यहरुमा भिम बहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दिपिका पौडेललाई चुनेको छ।
पर्वत कलाकार समाजमा यसअघि अर्का लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्त अध्यक्ष थिए। नयाँ कार्यसमिति तय भएपछि पन्त विधानत समाजको संरक्षक बनेका छन्। ‘हाम्रो मूलमन्त्र भनेको संस्कार र संस्कृति हो, यसैको जगमा हामी कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सृजना गर्ने काम गर्नेछौं’, अध्यक्ष चयन भएपछि गायक कुलेन्द्र विश्वकर्माले नेपाल समयसँग भने, ‘अघिल्लै कार्यसमितिमा मातृभूमीमा सम्मान कार्यक्रमबारे छलफल भएको थियो, कोभिडले गर्दा काम गर्न सकिएन तर यसपटकको कार्यसमितिले यसलाई पनि आफ्नो कार्ययोजनामा राख्नेछ। र, काम गर्नेछ।’
समाजका गतिविधिलाई सबै तह–तप्का र व्यवसायका साथीहरुले सहयोग गरिदिउन् भन्ने अपेक्षा अध्यक्ष विश्वकर्माले व्यक्त गरे। अधिवेशन कार्यक्रममा पत्रकार नारायण अमृत, पर्वतका युवा समाजसेवी डाक्टर केदार सुवेदी, ईश्वरी पन्त र युवा उद्यमी शिव वास्तोलाले समाजलाई सहयोग गर्ने प्रतिवद्धतासहित शुभकामना व्यक्त गरेका थिए।