त्रिशूली- सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका एक सय ९१ जना मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ। नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो।
केन्द्रका प्रमुख ताराबहादुर वाइवाका अनुसार नुवाकोटको उर्लेनी, लच्याङ, बुङताङ, तारुका, बेलकोट र रानीपौवामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दुका बिरामीलाई केन्द्रको शल्यक्रिया कक्ष विदुरमा सोमबार र मङ्गलबार दुई दिन निःशुल्क शल्यक्रिया सेवा दिइएको थियो।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका नेत्ररोग विशेषज्ञसहित छ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफल भएको हो। जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञ डा मनिता अमात्यले बताइन्। शिविरमा जाँच गर्न आएकामध्ये १० प्रतिशतमा रोगको सङ्क्रमण देखिएको उनले जानकारी दिइन्।
विभिन्न छ स्थानमा गरिएको शिविर तथा जाँच गराउन आएका बिरामीमध्ये १० प्रतिशतमा मोतियाबिन्दु पहिचान भएकाले यस आर्थिक वर्षमा थप २५ स्थानमा शिविर चलाउने तयारी गरिएको केन्द्रका प्रमुख वाइवाले जानकारी दिए। रासस