आउनु होस्, आउनु होस्।
सस्तोमा गलैंचा लैजानुहोस्।
सालै जो कार्पेट तथा गलैंचा पसल अगाडि उभिएर व्यापारी बृहस्पति (रोय श्रेष्ठ) ग्राहक बोलाइरहेका हुन्छन्। व्यापार चौपट छ। ग्राहक नआउँदा उनी निराश छन्। कोरोना महामारीका कारण व्यापार सेलाएको उनको दुखेसो छ। घरबेटी शंकर जी (प्रभाकर न्यौपाने) घरको भाडा माग्न आइरहन्छन्। उनले घरको भाडा र ऋण स्वरूप मागेको ५० लाख तिर्न बाँकी नै छ। साहुलाई सम्झाउन उनकै साथी नेता शोभित (अनोज पाण्डे)ले सहयोग गर्छन्। साहुलाई तीन महिनाभित्र पैसा दिनुपर्ने भाका राखिदिन्छन्।
बृहस्पतिलाई गलैंचा व्यापारलाई ठेक्कापट्टा शैलीमा बेचबिखन गरेर खस्किँदो अवस्थालाई उकास्न सुझाव दिन्छन् शोभित। तर, नैतिकवान् व्यापारी वृहस्पति छलकपट र ढाँटेर व्यापार उकास्न चाहँदैनन्। तिनै आदर्श र नैतिकवान् व्यापारीको संघर्ष कथा हो ढल्केको सालै जो। जसमा सुन्न पाइन्छ गण्डकी, लुम्बिनी र धौलागिरि अञ्चलका स्थानीय मौलिक भाका सालै जो।
के छ र सानु मरेर लानु सालै जो रित्ता दुई हातै नि
जलेर जानी हुने खरानी सालै जो गंगाको घाटै नि
हा गंगाको घाटै नि...
सालै जो भाका र कोरोनापछि व्यापारीमा आएको दुःखलाई सँगसँगै देखाउन प्रयास गरेका छन् रंगकर्मी आशान्त शर्माले। उनकै लेखन तथा निर्देशन रहेको नाटक ढल्केको सालैजोमा बृहस्पतिको संघर्षसँग अन्य व्यापारीको पनि दुःख देख्न सकिन्छ।
सहरमा एउटा ढलाने घर बनाउने सपना देखाउँछन् बृहस्पति श्रीमतीलाई। घरको अगाडि एउटा खरको छानो भएको कटेरो बनाउन पनि चाहन्छ। श्रीमतीले घरको अगाडि कटेरो किन चाहियो भन्ने प्रश्न गर्दा छरछिमेकका साथीहरू मिलेर सालै जो गाउने रहर सुनाउँछन्। सालै जो गाउन गाउँको नै झल्को दिने खालको संरचना बृहस्पति कल्पिन्छन्।
नाटकमा बृहस्पतिको मात्रै कथा छैन। नाटकमा उनका छोराको पनि युवा पुस्ताको प्रतिनिधित्व गर्ने कथा छ। दुई पुस्ताको कथा भन्न खोजेका छन् निर्देशक अशान्तले।
अर्का व्यापारी रमन (प्रयास वान्तवा राई) को हालत पनि निरीह छ। केही महिनादेखि बन्द सटर अगाडि लुँडो र बाघचाल खेलेर दैनिक बिताएका छन्। व्यापार गतिलो नभएपछि उनले पसल नै बेच्न सटरमै विज्ञापन टाँसेका छन्। यो यथार्थ हो कि पछिल्लो १८ महिना व्यापारीलाई ठूलो सकस भयो। पसल राखौं त भनेजस्तो व्यापार हुँदैन। बेचौँ त भनेजस्तो दाम दिने मानिस आउँदैनन्। घाटा खाएर भए पनि धेरै व्यापारीले चलाउँदै आएको पसल बेचेर खाडी गए। कोही गाउँ झरे।
बृहस्पतिको श्रीमतीको भूमिका निर्वाह गरेकी शान्ता (सुचित्रा उप्रेती) बृहस्पतिको सुख दुःखमा साथ दिने पात्र हुन्। शान्ता गृहिणी हुन्। उनी पसलमा पनि सहयोग पुर्याउने गर्छिन्।
अर्का पात्र छन् टुगा (वीरेन्द्र मुखिया), जसले आफ्नो खाली समय बाघचाल खेलेर बिताउँछ। ऊ टुरिस्ट गाइट हो। तर, बृहस्पतिको पसलमा आएका ग्राहकलाई ऊ अरुकै पसल देखाएर फर्काइदिन्छ। देशका कुनाकन्दरामा पर्यटकलाई घुमाउँदै हिँड्ने टुगाको दुःख पनि साह्रै आफ्नो काम नबनेपछि अरूको काम पनि बन्न नदिने मनस्थितिको छ। बाघचाल खेल्ने उसैको साथी हो रमन। टुगाको यसकिसिमको धोका मन पर्दैन रमलाई। तर, पनि सहन्छ।
बाहिर हेर्दा चुलबुले र जतिखेर पनि सेल्फी खिच्ने पात्र रोजी (संगीता थापा) खासमा बुटिक चलाउँछिन्। राजनीतिक व्यक्तित्वको छत्रछायामा रहेकीझैँ लाग्ने देखिए पनि उनको अवस्था पनि दयनीय छ। बन्दका कारण बुटिक पसल नै बन्द गर्ने अवस्थामा पुगेकी रोजी ऋण माग्न बृहस्पति अगाडि हात फैलाउँछिन्। तर, ऋणले थला परेको बृहस्पति आफै कसरी ऋणबाट उम्किने होला भन्ने ध्याउन्नमा छ।
बृहस्पतिको श्रीमतीको भूमिका निर्वाह गरेकी शान्ता (सुचित्रा उप्रेती) बृहस्पतिको सुख दुःखमा साथ दिने पात्र हुन्। शान्ता गृहिणी हुन्। उनी पसलमा पनि सहयोग पुर्याउने गर्छिन्। व्यापार नभएपछि जीवन धान्नका लागि चाहिने अत्यावश्यक सामान सकिएको र ऋणले थला परेको बृहस्पतिको दुःख सुन्दिने शान्ता श्रीमान बृहस्पतिको अवस्थाप्रति सधैँ गम्भीर हुन्छिन् र निकास खोज्न अनुरोध गरिरहन्छिन्। हुनेखाने मामाले ऋण नपत्याए पनि घरमै आएर एउटा कोठामा बास बस्नसम्म भनेको, दिदीलाई अलिकति ऋण खोजिदिनु भन्दा गरगहना भए लिएर आइज मैले लगाएको गहना त सबै अर्कैको हो भनेर टार्ने दिदी देखेर दुःख लाग्छ। बृहस्पति कसैबाट सहयोग नपाएपछि निराश हुन्छ।
कोरोना महामारीका कारण व्यापार मात्रै नभएर युवा पुस्ताको प्रेम पनि धरापमा पर्न पुगेका देख्न सकिन्छ। घरव्यापार ठप्प भएपछि विवाह सम्बन्धका कुराहरू पनि रोक्नुपर्ने दुःख बृहस्पतिका छोरा प्रतीक (अजश्र ढुंगना)को भूमिकाबाट देख्न सकिन्छ। आफ्नो प्रेमिकाको हात अप्ठ्यारो परिस्थितिमा माग्न जान नसकेको दुःखान्त अवस्थामा हुन्छ प्रतीक।
कोरोना महामारीले थुप्रै मानिसलाई सडकमा ल्याइदियो। रोजगार खोस्यो। व्यापार खोस्यो। त्यसको प्रभाव सबैभन्दा बढी श्रमजीवी वर्गलाई पर्यो। यिनै साना व्यापारी कोरोनाकालिन अवस्थाबाट गुज्रिनुपर्दाको मनोविज्ञान देखाउन खोजेका छन् निर्देशक शर्माले। उनी भन्छन्, ‘स्थानीय उत्पादन, व्यवसाय एवं सांस्कृति गतिविधि जब रोकिए मानिस निकै आत्तिए। त्यसको मनोवैज्ञानिक असर अहिलेसम्म पनि कम भएको छैन भन्ने लागेर नाटक ‘ढल्केको सालै जो’ गरेको हुँ।’
रंगमन्चका अब्बल कलाकार हुन आशान्त। नाट्य क्षेत्रमा अभिनय, प्राविधिक पक्ष र लेखन निर्देशनमा समेत लामो अनुभव छ शर्मासँग। लकडाउनमा स्वतन्त्र रंगकर्मीलाई सबैभन्दा गाह्रो भएको अनुभव उनीसँग छ। केही रंगकर्मीहरु रंगमन्चबाट पलायन पनि नभएका होइनन्। तर, शर्माले निरन्तरता दिँदै आएको प्रमाण पनि हो, नाटक ढल्केको सालै जो।
नाटकमा प्रयोग गर्न रुचाउने शर्माले यसअघि ‘बलेट एण्ड द बुद्ध’ ‘कथा एक्सप्रेस’, ‘कथा देश ३’, ‘दरौदीको पानी’ जस्ता नाटक पनि निर्देशन गरेका थिए।
यत्तिका बाबजुद पनि यो नाटक अशान्त शर्माको लेखन निर्देशन हो भन्नेका लागि निराश नहोलान् भन्न सकिन्न। नाटकमा केही न केही नखट्किन्छ। एक घन्टा ३५ मिनेट लामो नाटकले दर्शकलाई बाँधेर राख्न गाह्रै मान्छ। बृहस्पतिका श्रीमान श्रीमती बिचको प्रेमिल संवाद र उनका छोरा प्रतीक र उनको प्रेमिका बिचको प्रेमिल दृश्यले दर्शकको ध्यान खिच्न नसकेकै हो।
नाटकको राम्रो पक्ष व्याकग्राउण्ड म्युजिक हो। यसको मिठासमा सालै जो भाकाले कम्तीमा चार चाँद लगाएको छ।
रंगकर्मी शिल्पा मास्के नाटकको सद्भावना दूत रहेकी छिन् भने संगीत संयोजन राज पंगेनी, प्रनिस थापा मगर, सरला पराजुली र संगीता थापा मगरको रहेको छ। फागुन २४ गतेदेखि कौसी थियटरमा मञ्चन भएको नाटक चैत्र ८ गतेसम्म मञ्चन हुनेछ।