काठमाडौं- प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसँगको सुनुवाइ सकिएको छ ।
सुनुवाइका क्रममा कायममुकायम प्रधानन्यायाधीश जोशीले संसदीय विशेष सुनुवाइ समितिका सदस्यहरुलाई साथी भनेर सम्बोधन गरेपछि समिति सदस्य पार्वत गुरुङले आपत्ति जनाएका थिए ।
गुरुङको आपत्तिपछि सुनुवाइको अध्यक्षता गरिरहेका समिति जेष्ठ सदस्य लक्षमणलाल कर्णले जोशीको भनाई रेकर्डबाट हटाउन भनेका थिए ।
जोशीले .समिति सदस्यको आपत्तिपछि माफी मागेका थिए । जोशीले भने, ‘तपाईहरु पनि माननीय हो । म पनि माननीय । त्यही भएर माननीयका हिसाबले दुबै एकै ठाउँमा रहेको भनेर साथी भन्ने शब्द प्रयोग गरेको हुँ । यो शब्द प्रयोग गर्दा तपाईंहरुलाई चोट पुगेको भए माफी चाहान्छु ।’
समिति सदस्यहरुले राखेको प्रश्नको उत्तर दिँदै जोशीले आफूले २०६८ असार १३ गते छोरीले अंश पाउने विषयको मुद्दा बाहेक अरु कुनै पनि मुद्दामा फैसला नगरेको बताए ।
‘संवैधानिक व्यवस्था अनुसार विचाराधिन अवस्थाका मुद्दा र विवादित मुद्दाका विषयमा छलफल गर्न र बहस गर्न मैले पाउँदिन,’ जोशीले भने, ‘तपाईंहरु छलफल गरौं, बोलौं भन्नुहुन्छ भने म बोल्छु । तर, माननीयहरुले ध्यान दिनुपर्ने कुरा भनेको संविधानले मलाई विचाराधिन मुद्दामा बहस र छलफल गर्न दिँदैन ।’
एनसेलको कर छलिका विषयमा भएको फैसालाका बारेमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै जोशीले भने, ‘एनसेलको मुद्दाका विषयमा मैले फैसला त के आदेश पनि दिएको छैन ।’
सबैभन्दा ठूलो निकाय संसद भएको भन्दै जोशीले संसदले कानुन बनाएर दिए अदालतले त्यही अनुसार काम गर्न तयार रहेको पनि बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४