पाकिस्तान- पाकिस्तानका जनता एघारौं आम निवार्चनको मतगणनाको आधिकारिक नतिजाको व्यग्र प्रतीक्षामा छन्। जारी मतगणनामा पूर्वक्रिकेटर इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआर्इ)ले शुरुदेखिको अग्रता कायमै राखेर विजय नजिक पुगेको छ।
पाकिस्तानी निर्वाचन आयोगले बिहीबार दिउँसो सार्वजनिक गरेको राष्ट्रिय सभाको ५५ सिटमध्ये पीटीआर्इले ३४ सिटमा जित हात पारेको छ भने पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग नेसनल (पीएमल-एन) १३ सिटमा विजयी भएको छ।
यस्तै, पाकिस्तान प्रोग्रेसिभ पार्टी (पीपीपी)ले चार सिटमा जित हात पार्दा ग्रान्ड डेमोक्रेटिक एलाइन्स (जीडीए) र मुट्टाहिडा मज्लिस-ए-अमलले १-१ सिटमा चित्त बुझाएका छन्। त्यसैगरी, दुर्इ सिटमा स्वतन्त्रतर्फका उम्मेदवारले जित हात पारेका छन्।
४७ प्रतिशत मतगणना भइसक्दासम्म पीटीआर्इ एक १४, पीएमल-एन ६४ र पीपीपीले ४२ सिटमा जित हात पारेका छन्। बिहीबार ४ बजे निर्वाचन आयोगले प्रेस सम्मेलनमार्फत् केही प्राविधिक समस्याका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ।
शुरुदेखिको अग्रता कायम रहँदै गर्दा पीटीआर्इका नेता/कार्यकर्ताहरूले विजय उत्सव मनाउन शुरु गरेका छन्। पार्टी अध्यक्ष खानले भने कुनै आधिकारिक अभिव्यक्ति सार्वजनिक गरेका छैनन्। निर्वाचनको मतपरिणामले सेयर बजार पनि उकालो लागेको छ। बिहीबार बिहानको रिपोर्टअनुसार पाकिस्तानी स्टक एक्सचेन्ज एक सयबाट बढेर ६ सय पोइन्टमा पुगेको छ।
पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री सरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ। उक्त पार्टीका नेता सहबाज सरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै हिसाबबाट चुनौती दिने चेतावनी दिएका छन्। पीटीआईका विरोधीहरूले उक्त पार्टीलाई जिताउन पाकिस्तानको शक्तिशाली सेना आफैं लागिपरेको आरोप लगाएका छन्।
पाकिस्तानमा राष्ट्रिय विधायिका (नेसनल एसेम्ब्ली) का दुर्इ सय ७२ स्थानका लागि बुधबार मतदान भएको थियो। थप ७० स्थान महिला र अल्पसंख्यकहरूका लागि आरक्षित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४