काठमाडौँ- कक्षा १२ लगायत निकट भविष्यमा नै परीक्षा तालिका सञ्चालन गर्नका लागि परीक्षातालिका सार्वजनिक भइसकेका परीक्षा तत्कालका लागि स्थगित गर्न सिफारिस भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल हुने परीक्षा सञ्चालन नगर्न मन्त्रालयललाई सिफारिस गरेको हो।
कोरोना संक्रमण बढ्ने क्रममा रहेकाले तत्काल परीक्षा गर्न उचित नहुने स्वास्थ्यको निष्कर्ष छ। मन्त्रालयले सबै परीक्षा तत्कालका लागि स्थगित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको हो।
परीक्षाभन्दा पनि लाखौँ विद्यार्थीको जीवनरक्षाका लागि आफूहरु संवेदनशील रहेकाले तत्काल परीक्षा सञ्चालन गर्न नहुने निष्कर्ष निकालिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन्।
'कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु,' राज्यमन्त्री श्रेष्ठले ट्विटरमा लेखेका छन्।
स्वास्थ्य मन्त्रालयको उक्त सिफारिसअनुसार हाल सञ्चालन भइरहेको र निकट भविष्यमा नै हुन लागेकासहित कक्षा १२ का परीक्षा प्रभावित हुनेछन्। यद्यपि शिक्षा मन्त्रालयले भने आधिकारिक रूपमा कुनै निर्णय लिइसकेको छैन। मन्त्रालयले केही दिनमा नै यसबारे निर्णय लिइने बताएको छ।कोरोना संक्रमणको जोखिम बढेको भन्दै सामाजिक सञ्जालमा कक्षा १२ को परीक्षा स्थगत गर्न ह्यासट्याग अभियान नै चलाइएको थियो।