किभ- युक्रेनको राजधानी किभमा मंगलबार बिहान सबेरै विस्फोटनहरूको आवाज सुनिएको बीबीसीले जनाएको छ। उक्त विस्फोटको आवाजको केही समयपछि किभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।
उक्त भवनमा रुसी सेनाले आक्रमण गरेको र उक्त आक्रमणका क्रममा भएको आगलागीमा परी एक जना घाइते भएको युक्रेनी आपतकालीन उद्धार सेवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ।
१० तलाको उक्त भवनको पहिलो पाँच तलाबाट धुवाँको मुस्लो निस्किएको थियो।
केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन२४ ले जनाएको छ।युक्रेनी सेनाका प्रमुखले चार वटा रुसी हेलिकोप्टर खसालेको दाबी गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २० दिन भएको छ। रुसी सेना प्रमुखले हालसम्म चारवटा रुसी सैन्य हेलिकोप्टर खसालेको दाबी गरेका हुन्।
उनले भनेका छन्, 'युक्रेनी सेनाले चार रुसी सैन्य हेलिकोप्टर, एक विमान र एक क्रुज मिसाइललाई ध्वस्त बनाएको छ।' उनले रुसी सेना मनोवैज्ञानिक रुपमा पनि निकै कमजोर भइसकेको दाबी गरेका छन्। तर, रुसले भने २४ फेब्रुअरीदेखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। रुसी सेनाले आफूले कब्जा गरेको भूभागमा घाइतेहरुको उपचारका लागि स्वास्थ्य सुविधा दिन सुरु गरेको पनि बताइएको छ।