किभ– युक्रेनको राजधानी किभमा रहेको आवासीय भवनमा रुसी सेनाले आक्रमण गरेको छ।
नौ तलाको आवासीय भवनमा रुसी सेनाले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पताल लगिएको बीबीसीले जनाएको छ। त्यसैगरी नौ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ। १५ जना जोगिएका छन् भने ६३ जनाको उद्धार गरिएको छ।
रुसी सेना राजधानी किभ नजिकै पुगेसँगै सोमबार उत्तरी क्षेत्रमा रहेको उक्त भवनमा आक्रमण गरेका हुन्।
अर्कोतर्फ युद्धविरामका लागि दुवैतर्फका वार्ता टोलीबीच छलफल चलिरहेको छ। यो उनीहरुबीचको चौथो पटकको वार्ता हो। दुबै पक्षबीच भिडियो कलमार्फत वार्ता भइरहेको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले दुबै पक्षले आ–आफ्नो अडानलाई राखेको बताएका छन्।
उनले यसअघि आजको वार्ता युद्धविरामका लागि केन्द्रित हुने र रुसी सेनालाई फिर्ता पठाउने विषयमा छलफल हुने बताएका थिए। त्यसैगरी युक्रेनको सुरक्षा ग्यारेन्टीबारे रुसले प्रतिबद्धता जनाउनुपर्ने उनले बताएका थिए।