काठमाडौं– गत शुक्रबार युट्युबमा सार्वजनिक भएको गीत विवादित बनेपछि गायक–सर्जक प्रकाश सपुतले फेसबुकमा प्रष्टीकरण दिएका छन्।
आफूले ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने, पस्कनेसहित थुप्रै पुर्वलडाकूहरुको जीवनबाट ‘पिर’ गीतले जन्म लिएको उनले बताएका छन्। उनले भनेका छन्, ‘उनीहरुका निराशावादी कुराहरुलाई मैले डायरीमा नोट गरेको थिएँ, अहिले गीत बनाएँ, भिडियो बनाएँ।’
सपुतले आफूलाई निरुत्साहित नगरीदिन पनि आग्रह गरेका छन्। ‘कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौं, नअल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौँ कथा छन्। गाउनुपर्ने कैयौँ गीत छन्। तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।’
गीतमा रहेका केही दृष्यले आत्मसम्मानमा चोट पुगेको भन्दै उनले क्षमा पनि मागेका छन्।