युक्रेनको मारिउपोलस्थित एक प्रसूति तथा बाल अस्पतालमा भएको रुसी बम हमलापछि गत बुधबार मिडियामा डरलाग्दा तस्बिरहरु सार्वजनिक भए। यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेन र र यूरोपेली सहयोगी प्रशासनका सामु युक्रेनी जनतामाथि भइरहेको अत्याचार रोक्नका लागि उनीहरुले पर्याप्त कदम चालिरहेका छन् कि छैनन् भन्ने गम्भीर प्रश्न उठेको छ।
रगतले लतपतिएका कपडासहित भत्किएका अस्पतालका भग्नावशेषबाट घस्रिँदै निस्किरहेका गर्भवती महिलाका तस्बिरले विश्वभरका मानिसको अन्तस्करणमा खैलाबैला मच्चाएको छ। रुसी राष्ट्रपतिको युक्रेनमाथिको बढ्दो आतंकलाई लिएर आफ्ना नेताहरुले कस्ता प्रतिक्रिया दिन्छन भन्ने विषयले अर्कोतिर सबैलाई सोचमग्न हुन बाध्य बनाएको छ।
उक्त बम हमलामा परी कम्तिमा १७ जनाले ज्यान गुमाएको डोनेट्स राज्यको प्रहरीको प्रारम्भिक जानकारीले बताएको छ। घाइते तथा बेपत्ताहरुको खोजी कार्य जारी छ। यस घटनालाई युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले नरसंहारको प्रमाण भनेका छन्।
घटनापछि बुधबार अमेरिकी अधिकारीहरुले आफूले रुसी आक्रमण न्यूनीकरण गराउन सक्दो प्रयास गरिरहेको तर सोभियत(युगका लडाकु विमानलाई युक्रेन लैजाने विषयमा पोल्याण्डलाई सहयोग गर्न नसक्ने बताएका छन्। जर्मनीमा अवस्थित अमेरिकी वायुसेना अड्डामार्फत लडाकु विमानलाई युक्रेन लगेमा यसले अझ ठूलो युद्ध निम्त्याउन सक्ने अमेरिकी अधिकारीको ठम्याइ छ।
आफ्ना निर्दोष जनता जोगाउन जेलेन्स्कीले गरेका अपिलको भावनात्मक वजन भने बैठक कक्षबाट गरिएका ती भावहीन मूल्याङ्कन भन्दा कयौँ गुणा वजनदार छन्। असमान भावनात्मक बुझाइका बावजुद जेलेन्स्की मद्दतका लागि पुकारिरहेका छन्। युक्रेनका केही शहरहरू खाली गर्न र शरणार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले १२ घण्टा युद्धविराम गर्ने रुसको सहमतिका बावजुद मारिउपोल सहरको अस्पताल क्षेत्रमा आक्रमण भएको हो। त्यसपछि जेलेन्स्कीले नो फ्लाइ जोन जारी गर्न गम्भिर प्रस्ताव राखेका छन्। रुससँग प्रत्यक्ष टकराव सामना गर्नुपर्ने डरले नाटोले भने अहिलेसम्म जेलेन्स्कीको उक्त प्रस्ताव अस्विकार गरिरहेको छ।
बुधबारको घातक रुसी हमलापछि जेलेन्स्कीले आफ्ना सहयोगीहरुले मानवता गुमाइरहेका छन् कि भन्ने प्रश्न सोध्दै टेलिग्राम मार्फत लेखे, ‘मानिसहरू, बालबालिकाहरू भग्नावशेषमा छन्। अत्याचार! आतंकलाई बेवास्ता गर्ने संसार कहिलेसम्म सहयोगी हुनेछ? हामीले केही पश्चिमी नेताहरूलाई झकझक्याउनु पर्नेछ ताकि उनीहरूले अन्ततः आक्रमणको पहिलो दिनमा जे गर्नुपर्ने थियो त्यो गर्न सकुन्। कि त रुसी रकेट र बमहरु युक्रेनी आकासबाट नखसुन् कि त हामीलाई लडाकु विमानहरु दिइयोस् ताकि सबै कुरा हामी आफैं नियन्त्रणमा ल्याउन सकौं।’
रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनले अस्पतालमा लडाकु क्याम्प स्ठापना गरेको दाबी गरेका छन्। तर यो दाबी अहिलेसम्म प्रमाणित हुन सकेको छैन।
अमेरिकी राष्ट्रपति जो बाइडेन र र यूरोपेली सहयोगी प्रशासनका सामु युक्रेनी जनतामाथि भइरहेको अत्याचार रोक्नका लागि उनीहरुले पर्याप्त कदम चालिरहेका छन् कि छैनन् भन्ने गम्भीर प्रश्न उठेको छ।
युक्रेनमा हताहती बढ्दो छ। दिनानुदिन देश छोडेर भाग्ने शरणार्थीको संख्या चुलिइरहेको छ। यस्तो अवस्थामा विश्वका अन्य प्रजातान्त्रिक राष्ट्रहरु केसम्म गर्न इच्छुक छन्? यो प्रश्न अहिले अमेरिका र उसका सहयोगी राष्ट्रहरुका लागि सबै भन्दा गम्भिर प्रश्न बनेको छ। बुधबार ब्रिफिङका क्रममा अमेरिकाले युद्धलाई अझ भयंकर बनाउने उत्तेजनात्मक पाइला नचाली युक्रेनको सहयोगमा गर्न सक्ने सबै कार्य गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकी र पेन्टागनका प्रवक्ता जोन कर्बीलगायतका अमेरिकी अधिकारीहरूले बताएका छन्।
इलिनोय राज्यका प्रतिनिधि एवम् ‘कंग्रेसनल युक्रेन ककस’का सहअध्यक्ष, डेमोक्र्याटिक रिपब्लिक पार्टीका माइक क्विग्लीले नाटोका धारणाका विरोधमा प्रश्न उठाए। उनका अनुसार युक्रेनी जनताले देखाएको साहस नै नाटो स्थापनाको प्रमुख आधार रहेको र सहयोगीहरुले युक्रेन नाटोको सदस्य नभएको भन्दै बेमतलवी हिसाबले अडिग रहनुको कुनै औचित्य नरहेको बताए। यसले संयुक्त मोर्चामा केहि दरारहरु सिर्जना भएको प्रष्ट्याउँछ।
सिएनएनको एट दिस आवर कार्यक्रममा क्विग्लीले भने, ‘हामी विमान कहाँबाट उड्दा कस्तो असर पर्छ भन्ने विषयमा छलफल गर्न त सक्छौं तर त्यसै समय हामीले यो पनि सोच्नुपर्छ कि देशका रुपमा हामी को हौं? हामीले नाटोको स्थापना किन गर्यौं अनि के अहिले जे चलिरहेको छ त्यसलाई चलिरहन दिनेछौँ?’
कार्यक्रममा उनले थपे, ‘यदि कोहि यो समस्याको निवारण चाँडै हुन्छ भन्ने सोच्छ भने उसले यो कल्पना गरेको छैन कि दुनियाँ लामो समयका लागि नर्क समान हुँदैछ।’ जेलेन्स्कीको अनुरोध बमोजिम पोल्याण्डबाट लडाकु विमान उडाउने योजना अमेरिकाले अस्विकार गरेसँगै नाटो सहयोगीहरुमाथि बढेको दबाबलाई पनि कार्यक्रममा उदृत गरियो।
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस पोल्याण्ड प्रस्थान गर्नै लाग्दा पोल्याण्डले आफ्नो रामस्टेन एयर बेसबाट जेट हस्तान्तरण गर्न तयार भएको कुरा सार्वजनिक गरेको हो। यस खबरले नाटो सम्भावित विभाजनतर्फ मोडिएको हो कि भन्ने कुरा पनि खुलाएको छ।
अमेरिकाले निभाउन खोजेको मध्यस्थकर्ताको भूमिकालाई रुसी राष्ट्रपति पुटिनले युद्धको आह्वान सोचेर स्थिति झन् जटिल बन्न सक्ने कुराको विश्वास गुप्तचर विभागलाई रहेको कुरा कर्बीले खुलासा गरे। ‘युक्रेनी फौजसँग पर्याप्त हतियार छँदाछँदै पनि अमेरिकाका विचारमा युक्रेनलाई शस्त्र प्रदान गर्नु नै आवश्यक सहयोग हो,’ चर्कँदो युद्ध रोक्न अमेरिकाले यो भन्दा अतिरिक्त कदम चाल्न नसक्ने कुरा पनि उनले उल्लेख गरे, ‘हाम्रो सानो निर्णयले ठूलो असर पर्न सक्छ। स्थिति अझ जटिल हुन नदिन हामीले सानाभन्दा साना निर्णय लिनु पूर्व सावधानीपूर्वक तिनको अध्ययन गर्न जरुरी छ। विनासकारी र डरलाग्दो युद्ध हुने सम्भावना भएका कारण अवस्था थप बिग्रिएमा युक्रेनी जनताको जीवन तहसनहस हुनेछ। अर्थहीन रक्तपात रोक्न हाम्रो उद्देश्य युद्ध अन्त्य गर्न हो, यसलाई बढावा दिनु होइन।’
साताको सुरुवातमा सोभियत युगका विमान पठाइ युक्रेनको सहयोग गर्ने विचारको समर्थन गरेका ब्लिन्केनले पनि यस्तै भावना व्यक्त गरे। बेलायती विदेश सचिव एलिजावेथ ट्रससँगको संयुक्त पत्रकार सम्मेलनमा उनले सो कुरा राखेका हुन्। ट्रसले एन्टी एयर हतियार पठाएर युक्रेनको हवाई सुरक्षामा मद्दत गर्ने बेलायतको योजना रहेको बताए।
जेलेन्सकीको नो फ्लाइ जोनको अपिलका बारेमा प्रश्न गर्दा ब्लिन्केन र ट्रसले युक्रेनी जनतालाई आफ्नो सुरक्षाका लागि प्रशस्त साधन उपलब्ध गराउन दुवै देशले सक्दो प्रयास गरिरहेको बताए। ब्लिन्केनले थपे, ‘अर्थहीन रक्तपात रोक्न हाम्रो उद्देश्य युद्ध अन्त्य गर्नु हो, यसलाई बढावा दिनु होइन।’ अमेरिका र अन्य देशहरुले पुटिन समक्ष युद्ध रोक्ने प्रस्तावना राखे पनि पुटिन ब्रेक फेल भएको गाडी जसरी असीमित गतिमा भिरैभिर हुइँकिएको टिप्पणी उनले गरे। उनले युक्रेनका जनताको साहसको प्रशंसा समेत गरे। रुसमाथि लगाइएका प्रतिबन्धले पुटिनले रणनीतिक पराजय व्यहोर्ने कुरामा आफू विश्वस्त रहेको कुरा पनि उनले उल्लेख गरे।
‘आर्थिक रुपमा हामीले रुसलाई करिब ३० वर्ष पछाडि धकेलिसकेका छौँ। रुसबाट बाहिरिने विदेशी कम्पनीहरुको संख्या बढ्दो छ। रुसी अर्थतन्त्रमा यी सबैको नकारात्मक प्रभाव आंशिक नभइ लामो अवधिका लागि रहने छ। हामीले अब केवल राष्ट्रपति पुटिनले आफू र जनता माथि परिरहेको यो नोक्सान कहिले सम्म जारी राख्छन् मात्र हेर्नु छ। उनका लागि हामी निर्णय लिन सक्दैनौँ। तर, उनलाई चाँडै सकारात्मक निर्णय लिन बाध्य बनाउने हाम्रो प्रयास निरन्तर चलिरहेको छ।’
- सीएनएनमा मेभी रेस्टोनले तयार गरेको सामग्रीको भावानुवाद