सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकद्वारा ग्राहकको गोपनीयता भंग भएको हल्लाको खण्डन

नबिल बैंकद्वारा ग्राहकको गोपनीयता भंग भएको हल्लाको खण्डन

 |  सोमबार, वैशाख १४, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १४, २०८३

काठमाडौं- नबिल बैंकले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका ग्राहकको गोपनीयता भंग सम्बन्धी समाचारहरूको कडा खण्डन गरेको छ। बैंकले ग्राहकको कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने कुरालाई आधारहीन, प्रमाणविहीन र भ्रामक भन्दै यस्तो दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकका अनुसार, मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित गृहमन्त्री गुरुङको बैंकिङ कारोबारसम्बन्धी समाचारमा स्पष्ट रूपमा 'अनुसन्धानरत निकायबाट प्राप्त गरेको' भनी उल्लेख गरिएको छ।उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाको विवरण समेटिएको भएता पनि केही व्यक्तिहरूले नियोजित रूपमा नबिल बैंकलाई मात्र लक्षित गरी भ्रम फैलाउन खोजेको बैंकको दाबी छ।

नबिल बैंकले स्पष्ट पारेको छ कि ग्राहकको सूचना वा विवरण सम्बन्धित ग्राहक, निजको आधिकारिक प्रतिनिधि, वा कानूनी प्रक्रिया पुर्‍याएर आएका नियामक तथा अनुसन्धानकारी निकायलाई बाहेक अन्य कुनै पनि अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराइँदैन। बैंकको कोर बैंकिङ सिस्टम (CBS) मा कुन कर्मचारीले कुन मिति र प्रयोजनका लागि विवरण हेरेको हो भन्ने सम्पूर्ण रेकर्ड सुरक्षित रहने हुनाले अनधिकृत पहुँच असम्भव रहेको बैंकले उल्लेख गरेको छ।

चार दशकभन्दा लामो इतिहास बोकेको बैंकले प्रचलित कानून र बैंकिङ नैतिकताको पूर्ण पालना गर्दै आएको भन्दै यस्ता तथ्यहीन कुराको पछि नलाग्न ग्राहक तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।साथै, बैंकको प्रतिष्ठामा आँच पुऱ्याउने गरी नियोजित दुष्प्रचार गर्नेहरू विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत बैंकले दिएको छ।

 

प्रकाशित: Apr 27, 2026| 10:48 सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्