काठमाडौं– सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली नजिक ठाकुरखोला पुलमा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा २६ जना घाइते भएका छन्।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। टिपर बाढीगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको थियो।
दुर्घटनामा मृत्यु हुने उदयपुरको कटारी नगरपालिका–२ का २४ वर्षीय अजय दनुवार र सोही ठाउँका १९ वर्षीय दिपेन्द्र कुँवर हुन्। बेहुलाबेहुली भने छुट्टै गाडीमा सवार भएकाले दुर्घटनाबाट जोगिएका छन्।