विराटनगर- प्रदेश १ को सत्तारुढ दल नेकपा एमालेले नेपाल–भारत आवातजावतमा भिसा लागू गर्न माग गरेको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद विमल कार्कीले भारत आवतजावतमा भिसा प्रणाली लागू गर्न माग गरेका हुन्।
सीमामा सँधै समस्या आउने गरेको भन्दै उनले भिसा प्रणाली लागू गर्न माग गरेका हुन्। भारतसँगको सीमा समस्या समाधानका लागि पनि प्रदेश तथा संघीय सरकारले पहल गर्नुपर्नेमा कार्कीको जोड छ। कार्कीले भारतीय एसएसबीको ज्यादतीबारे भारतले नेपालसँग क्षमायाचना गर्नुपर्ने बताए।
शुक्रबारको बैठकमा एमाले सांसदहरुले शेरबहादुर देउवा सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्। सांसद अम्बिका थापाले जनतालाई भोटबैंक बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन्। सरकारले भूमि आयोग खारेज गर्ने निर्णयलाई विरोध गर्दै नवनिर्मित परमादेशबाट बनेको सरकारले भूमि आयोग खारेज गर्ने निर्णय गरेर गरिब जनतालाई भोट बैंक मात्र सम्झेको उनको आरोप थियो।
सांसद बसन्तीकुमारी यादवले सरकारले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गलत भएको बताइन्। परमादेशबाट आएको संघीय सरकारले भ्रष्टाचारको आरोपित नेता विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेर गलत गरेको बताइन्।
कांग्रेस सांसद लिला सुब्बाले प्रदेश सरकारले प्रदेशको नामकरण गर्न नसकेको बताएकी छिन्। कांग्रेस सांसद सूयर्माराज राईले मोरङको उत्तरी क्षेत्रमा रहेको आमतोला सडक खण्डलाई बहुवर्षीय योजनामा बजेट विनियोजन गरेर निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरे।