काबुल- अफगानिस्तान, टर्की र कतारबीच काबुल विमानस्थल र देशका अन्य थुप्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ।
इस्लामिक इमिरेट्सका कार्यवाहक सूचना तथा संस्कृति मन्त्री खैरुल्लाह खैरख्वाले विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको आइतबार बताएको टर्कीको सबाह दैनिकलाई उद्धृत गर्दै टोलोन्युजले उल्लेख गरेको छ।
खैरख्वाले भने, 'टर्की, कतार र अफगान सरकार एक सम्झौता नजिक पुगेका छन्, त्यसैले निकट भविष्यमा यसलाई अन्तिम रुप दिइने छ।'
अफगानिस्तानका प्रतिनिधि मण्डलले टर्की भ्रमण गरेर टर्कीका अधिकारीहरूसँग भेट गरेपछि विमानस्थल सञ्चालनका लागि भएका छलफल सकारात्मक मोडमा पुगेको देखिएको छ।
दुवै पक्षले काबुल विमानस्थल सञ्चालन गर्ने र अफगानिस्तानका अन्य अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनबारे लम्बिएको सम्झौताबारे छलफल गरेका थिए। शनिबार अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमीर खान मुक्ताकीले टर्कीका विदेशमन्त्री मेव्लुत काबुसोग्लूसँग भेट गरी अफगान विमानस्थललगायत विभिन्न विषयमा छलफल गर्नुभएको थियो।
तोलोन्युजका अनुसार दुवै पक्ष निकट भविष्यमा बाँकी रहेका विवाद समाधान गर्न सहमत भएका छन्। अफगानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा भनेको छ, 'दुवै पक्षले काबुल विमानस्थल र अन्य अफगानी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल गरेका थिए। थप छलफल गर्नुपर्ने सम्झौताको प्रावधानको मूल्यांकन गर्दै कतारलगायत दुवै देशले प्राविधिक छलफलमार्फत ्सकेसम्म छिटो उल्लेख्य समस्या समाधानको काम गर्ने वचन दिएका छन।'