काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता महेश आर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत ओलीलाई खुल्ला पत्र लेख्दै नेता आचार्यले सत्तामा पुगेपछि देखिएको दम्भ नफाले आफै फालिने समेत चेतावनी दिएका छन् ।
उनले समय छदै सत्याग्रही डा गोविन्द केसीको माग सुन्न र सम्बोधन गर्न अपिल गरेका छन् । उनले पत्रमा लेखेका छन् - 'ठुलो पदमा बस्नेले ठुलो ह्रदय बनाएर गम्भीर विमर्श र विवेकको प्रयोग गर्दै डाक्टर केसीका माँग सम्बोधन गर्न अनुरोध गर्दछु ।'
नेता आचार्यले विवेककहीन भएर आक्रामक हुँदा शासक अन्ततः सधै एक्लो र तिरस्कृत हुने गरेको पनि स्मरण गराएका छन् । उनले सत्ताको मुकुट लगाएपछि विवेकको ऊर्जा मस्तिस्कमा नघुसेको हो की भनेर समेत प्रश्न गरेका छन् ।
यस्तो छ कांग्रेस नेता आचार्यले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र
सम्माननीय प्रधानमन्त्रीज्यु,
डाक्टर केसीको बर्तमान सत्याग्रह, बिचार र भाव जगतबाट जनतामा उच्चतम चेतना र ऊर्जा प्रवाहित भएको देखिरहेको छु । आफ्ना निम्ति होईन अरुको कल्याणका लागी जीवन उत्सर्ग गर्न तयार हुन असिम संकल्प र करुणा चाहिन्छ। डाक्टर केसीको जस्तो जनकल्याणका लागी जीवन बलिदान गर्ने संकल्प चेतनाले एकैपटक लाखौ मानिसको बिचार र भावना सकारात्मक ऊर्जाले तरंगित भएको अनुभव गरेको छु।
डॉक्टर केसी प्राध्यापक हुन् ! किन शिक्षण कार्य गर्दैनन् ? सत्याग्रहमा किन बसेका हुन् ? सत्ताको पक्ष पोषण र ताबेदारी गर्ने हरू अहिले यस्तो बेसुरो प्रलाप गर्दैछन् । मलाई लाग्छ डाक्टर केसी सत्याग्रहमा बसेर असाधारण शिक्षणको काम गर्दैछन् । ब्यक्तिको जीवन, उसको शिक्षा, सम्पदा र पद आत्मरति र ब्यक्ति सुखका निम्ति होईन जनकल्याणका निम्ति हो भन्ने ज्ञान र चेतना डाक्टर केसीले एकैचोटी लाखौं पेशाकर्मी र खास गरी डाक्टरहरुमा तरंगित गराएका छन् ।
यो सत्याग्रहमा प्रत्यक्ष र अप्रत्यक्ष जुटेका हजारौ पेशाकर्मीको जीवन र तिनको सोच र बिचार यो सत्याग्रह पछि गम्भीर र दीर्घकालीन रूपबाट बदलिने छ र प्रभावित हुनेछ । यस अर्थमा डाक्टर केसी लाखौं मानिसका लागी आफ़्नो जीवन र समाजलाई हेर्ने दृष्टि परिवर्तन गराउने गुरु बनेका छन् ।
डाक्टर केसीको सत्याग्रहले सिर्जना गरेको बिचार र चेतनाको नयाँ तरंगले हाम्रो समाज र राजनीतिको बिषाक्त क्षेत्र पनि प्रभावित नभई रहन सक्दैन । सत्ताको मुकुट लगाएपछि विवेकको ऊर्जा मस्तिस्कमा हत्तपत्त नपुग्ने रहेछ । महाभारतकालका महारथी अर्जुनका पौत्र एवम् श्री कृष्णद्वारा रक्षित राजा परीक्षित जो स्वयं अत्यन्त पराक्रमी थिए, उनले पनि कलिले बास गरेको जरासन्धको मुकुट लगाए पछि सत्यको साधनामा बसेका ऋषिको गलामा सर्प हाल्ने बिबेकहीन कर्म गरे ।
यो दुष्कर्मका कारण प्रतापी राजा परीक्षितको जीवन र राजकीय भोग सात दिनमै समाप्त भयो । सत्ता बिबेकहीन भएर आक्रामक हुँदा शासक अंततः सधै एक्लो र तिरस्कृत हुन्छ । अनि सत्यको साधना गर्ने सत्याग्रही हठात् मर्दैनन् बरु हजारौं नयाँ सत्याग्रही युगचेतना बदल्न जन्मने रहेछन् ।
सम्माननीय प्रधानमन्त्रीज्यु, राजा परीक्षितको यो प्रसंग पुराणको गाथा हो । आधुनिक तर्कको कसीमा असान्दर्भिक लाग्न सक्छ । तर यो प्रतीकात्मक बिम्ब र यसमा अंतर्निहित सन्देश भने कालातीत छ ।
हामी जो सत्तामा बस्छौं ( शासन र सत्ताको विशिष्टताको चश्मा र ध्वनिले जनतालाई हेर्ने र सुन्ने हाम्रो सोच र दृष्टि भ्रमित र धूमिल हुदै जान्छ । सत्ताको आकांक्षा हुँदा हामी जो कोहीलाई सड़क र सडकमा ओर्लीएको जनसागर प्रिय लाग्छ । तर सत्तामा पुगेपछि त्यहि सडक बिरानो र सडकको आवाज कर्कस र निरर्थक लाग्न थाल्छ ।
जनताको स्थायी थलो त सडक नै हो प्रधानमन्त्रीज्यु । सडक र जनता हिजो जस्तो थिए आज पनि ति तेस्तै छन् । सडक र जनतासंग सत्ताको सम्बन्ध टूटे पछि हामी भने फेरिएको देखिन थाल्छौं ।
प्रधानमन्त्रीज्यु तपाईंको यो विशिष्ट पद संसदको मात्र होईन सडक र जनताको पनि सारथीको पद हो। त्यसैले समय छदै ूठुलो पदमा बस्नेको ठुलो ह्रदयू बनाएर गम्भीर विमर्श र विवेकको प्रयोग गर्दै डाक्टर केसीका माँग सम्बोधन गर्न अनुरोध गर्दछु ।
हार्दिक जयनेपाल सहित,
महेश आचार्य
पूर्व मन्त्री
केन्द्रीय सदस्य , नेपाली कांग्रेस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४