काठमाडौं- सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेषगरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ।
देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन्।
आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ। जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
प्राधिकरणका महानिर्देशक इन्जिनीयर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए। गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ।
नेपालमा विक्रम संवत् २००६ सालमा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो। सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरूआत भएको मानिन्छ। त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो।
विक्रम संवत् २००७ सालमा भारतको पटनाबाट इण्डियन नेसनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो।
ठूलो अत्याधुनिक विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए। उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण परियोजना भएको बताए।
कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ। यो विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ। मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ।
गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापरवाहीले अवरोध भएको थियो।
पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आउन लागेको हो।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रूपले निर्माण गरेको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करीब २२ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ। पहिलो चरणमा करीब ११ अर्ब रुपैयाँ खर्च भएको छ।
अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए। कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने व्यवसायीको बुझाइ छ। विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन्। विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ।
लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ। बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलंका लगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ।
नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले बुद्धिस्ट पर्यटक आकर्षण गर्न गौतमबुद्ध विमानस्थलको महत्त्वपूर्ण भूमिका हुने बताए। कोभिड महामारीबाट सहज बन्दै गइरहेको मुलुकको पर्यटन क्षेत्रका लागि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले विदेशी पर्यटक बढ्ने र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास छ।
प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान योग्य भएको सूचना प्रकाशित गरेको छ। यो विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तक समेत प्रकाशन गरेको छ।
आगामी अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने बताइएको छ। प्राधिकरणले विमानस्थल उडानका लागि योग्य भयो भनी उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि ‘एप्रोच’ गर्न विमानस्थलको सबै विवरण सहितको प्रकासन जारी गरेको छ।
तीन अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान गर्ने इच्छा
गौतमबुद्ध विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाएका छन्। प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार अहिले ३ एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन्। गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका हुन्। सीबी अधिकारी/रासस