सप्तरी- सप्तरीका वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको सडक दुर्घटनामा मृत्यु भएको छ। राजविराज नगरपालिका- ७ बस्ने ६५ वर्षीय खतिवडाको बुधबार दुर्घटनामा परि मृत्यु भएको हो।
राजविराज-भारदह सडक खण्डको राजविराज नगरपालिका-१५ देउरी भरुवा भन्ने स्थानमा ना ५ ख ६१० नम्बरको राजधानी ट्राभल्स बसले को १ ज २१४९ नम्बरको माइक्रो बसले ठक्कर दिँदा माइक्रो बसमा सवार खतिवडाको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
टाउकोमा गंभीर चोट लागेका खतिवडाको अवस्था चिन्ताजनक भएपछि उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
२०३० सालदेखि पत्रकारिता पेशा शुरु गरेका खतिवडा मातृभूमि साप्ताहिकमा लामो समयसम्म सप्तरी संवाददाताको रुपमा काम गरेका थिए । खतिवडा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत थिए।
त्यसैगरी दुर्घटनामा गंभीर घाइते प्रहरी हवल्दार मोरङ्ग मोतीपुर ६ का ३० वर्षीय श्रवण माझीको नोबल अस्पताल विराटनगर र राजविराज १ का ४५ वर्षीय नित्यानन्द झाको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुने यात्रीहरु माइक्रो बस चढी विराटनगरबाट राजविराजतर्फ आइ रहेका थिए। राजविराज पुग्न चार किलोमटिर बाँकी छँदा माइक्रो बसलाई राजधानी बसले ठक्कर दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४