धनगढी– खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ। प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको मनाङले खप्तड गोल्डकपमा पहिलो पटक सहभागी बनेको फ्रेन्ड्स क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो।
उपाधिसँगै २१ लाख पुरस्कार जित्नका लागि दुवै टिमका प्रशिक्षकले आ–आफ्ना खेलाडी तयार रहेको शुक्रबार बताएका छन्। धनगढी रंगशालामा उपस्थित भएका फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले यो वर्षको उपाधि क्लबको लागि महत्वपूर्ण रहेको बताए। ‘फ्रेन्ड्स क्लब आउँदो जेठमा ५० वर्ष पुग्दैछ। त्यसका लागि हामीले उत्सव गर्ने निर्णय गरेका छौं। यो उपाधि जित्यौँ भने सुनमा सुगन्ध हुन्छ,’ मिश्रले भने, ‘त्यसैले हामी पूरा इफोर्टका साथ फुटबल खेल्नेछौँ।’
यता मनाङको पनि त्यहि सोच छ। ‘यो उपाधि जित्नु मनाङका लागि धेरै नै महत्वपूर्ण छ। हामी सबै जितका लागि लागिपरेका छौं। हामी उपाधिविहीन भयौँ भने हाम्रो चर्चा हुँदैन। हाम्रो फ्यान र क्लबका लागि पनि जित्नुपर्छ। लिगको नतिजामा मलम लगाउन पनि जित्नुपर्ने छ,’ मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भने।
शनिबार दिउँसो तीन बजे हुने फाइनल खेलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मुख्य अतिथि रहने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन्।
के भन्छन् प्रशिक्षक र कप्तान ?
मनाङका प्रशिक्षक राजेन्द्र तामाङ
हामी फाइनल पुगेका छौं। फाइनलको माहोलमा हामी जितका लागि नै खेल्नेछौं। मनाङको फ्यानबेस देशभरी छ। यहाँ पनि छ हामी राम्रो फुटबल खेल्छौं। फ्यान आइहाल्छन्। हामीले राम्रो फुटबल खेलेर कमाएको हो। हामी राम्रो खेलेर उनीहरुलाई थप उत्साह दिनेछौं।
सबैभन्दा महत्वपूर्ण भनेको राम्रो खेल्नु हो। त्यो भनेको जितको आधार पनि हो। मोफसलको प्रतियोगितामा मात्र हेर्ने हो भने ६–७ वर्षअघिको मनाङ र अहिलेको मनाङमा फरक छ। महत्व पनि फरक छ। लगानी अनुसार खेलाडीको डेडिकेसन बढेको छ। क्लबलाई जित दिलायो भने हाम्रो महत्व पनि बढ्छ भन्ने लागेको छ।
फाइनलको कुरा गर्दा, फ्रेन्ड्सको सट्टामा अर्को क्लब पनि आउन सक्थ्यो। उ पनि बलियो टिम नै हो। उसँग बलियो फरवार्ड छ। उसलाई गोल गर्न रोक्नुपर्ने छ। यो प्रतियोगिताको फाइनलमा जो पनि पुग्न सक्थ्यो। अब फाइनलमा राम्रो खेल हुनेछ, ट्याक्टिकल्ली कुरा हामीसँग नै छ। मैदानको कारणले गर्दा पनि स्मुथ्ली जान सकिँदैन।
हाम्रो आफ्नै तरिका छ र भित्रैबाट तयारी गरेका छौं। ए डिभिजनको नतिजालाई मलम लगाउन पनि यो जित आवश्यक छ।
मनाङका कप्तान अन्जन विष्ट
मुख्य कुरा नकआटमा खेलमा सबै खेल फाइनल जस्तै नै हो। एक हारले सबै सकिन्छ। अहिले चाहिँ मेन फाइनलमा आएका छौं। हामीले पछिल्लो खेलमा पनि मन लगाएर खेल्यौँ अब पनि खेल्छौं। फिल्ड राम्रो भएको भए खेलको स्तरमा केहि राम्रो गर्न सकिन्थ्यो कि भन्ने लागेको छ। मनाङलाई अहिले सपोर्ट गर्ने धेरै समर्थकहरु हुनुहुन्छ। हामी उहाँहरुका लागि पनि खेल्छौं।
हामीले रेस्ट पायौँ। त्यसैले इन्ज्युरी र म्याच फिटनेसको अवस्था ठिकै छ। मैदानको कारण इन्ज्युरी आउने अवस्था धेरै छ। सतर्क पनि हुनुपरो नि। खप्तड गोल्डकपको पहिलो संस्करणमा हामीले पहिलो पटक उपाधि जितेका थियौं। हामी फेरि उपाधि जित्ने तयारीमा छौं। आशा छ राम्रो नै हुन्छ होला।
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्र
प्रतियोगिता र निमन्त्रणाको लागि आयोजकलाई धन्यवाद दिन चाहन्छौं। हाम्रो फाइनल पुग्नु राम्रो अवसर हो। जसले गोल हान्छ उसले जित्छ। मनाङ हाम्रो भन्दा स्तरीय टिम हो। मनाङले लिगमा फ्रेन्ड्सलाई ३–१ गोलले हराएको थियो।
फुटबलमा जित नै राम्रो हुन्छ र हामी जितका लागि नै खेल्छौं। भोलि दर्शक धेरै हुन्छन् होला। खेलाडीलाई पनि हौसला हुन्छ। सुरजज्यु ठकुरीले हिजो धेरै अवसर पाएनन्। आउनेबित्तिकै खेलेको हो। अब फाइनलमा उसको प्रदर्शन राम्रो हुन्छ होला। सुरजको उपस्थितिले टिमलाई सपोर्ट हुन्छ।
फ्रेन्ड्सका कप्तान असिम भुषाल
हामी फाइनलमा लागि उत्साहित छौं। सुरुदेखि नै तालमेल मिलेन। तर लिगको अन्तिमका खेलमा हाम्रो तालमेल मिलेको छ। उत्साह र उर्जा थपिएको छ। राम्रो खेलाडी थपिएको छ। मनाङ बलियो टिम छ। टिमको परिवर्तन पनि हो। उर्जा थपिएको छ। फ्यानबाट सपोर्ट आयो भने उत्साह बढ्छ। भोलिको फाइनलमा जितका लागि नै उत्रने छौं। हामी सबै रेडी नै छौं। क्लबको इतिहासमा धेरै पछिको फाइनल हो।