काठमाडौं- बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको संगठन नेपाल स्टुडेन्टस एसोसिएसन बंगलादेश (एनएसएबी) ले बी एण्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई २४ घण्टा भित्र कानुनी कारबाही गर्न सरकारलार्इ चेतावनी दिएका छन्।
प्रसाइले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै यस्तो चेतावनी दिएका हुन्। उनीहरुले प्रसाईंलार्इ कारबाही नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएका छन्।
एनएसएबीका केन्द्रीय अध्यक्ष डा राजु साहले बुधबार जारी गरेको बिज्ञप्तीमा पदबाट राजिनामा दिएका कानुन मन्त्री शेरबहादुर तामाङ र प्रसाईंको अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत सम्पूर्ण विद्यार्थी र अभिभावकमा परेको आघात अपुरणीय भएको बताएका छन्।
साहले पद र गरिमाको ख्याल नगरी यस्तो घृणित पाराले नेपाली चेलीहरुको इज्जतमा दाग लगाउने कपोलकल्पित, भ्रूमपूर्ण, अर्थहिन कटाक्ष गर्ने मन्त्रीको राजिनामा र प्रसाईंको माफिको कुनै औचित्य नभएको बताएका छन्।
‘नेपाली चेलीलाई बद्नाम गरेर प्रसाईंले मेडिकल कलेज खोल्ने निहुँमा व्यापार गर्ने कमजोर मानसिकताबाट प्रेरित भएकोले यस्तो भ्रमपूर्ण निच मानसिकताबाट ग्रसित तामाङ र प्रसाईंलाई तुरुन्तै कानुनको दायरामा ल्याई कडा कारबाही गर्न माग गर्छौं’ साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४