काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धेरै बर्बराउँदै हिँडेकोले उपचारको माग गरेका छन्।
नेपाल समयसँग कुरा गर्दै नेता केसीले भने, ‘२०१७ सालमा तत्कालिन राजा महेन्द्रले तानाशाही लाद्न तत्कालिन प्रधानमन्त्री वीपीलाई सुन्दरीजल जेलमा हालेको इतिहासको तथ्यलाई बंग्याएर अध्यक्षद्वयले कांग्रेसले ०१७ सालमा प्रजातन्त्र दरबारमा बुझायो भन्नु इतिहासको अज्ञानता र पटमुर्खपन मात्र हो।’
केसीले इतिहासको सामान्य ज्ञान पनि नराखी कांग्रेसको गौरवमय इतिहासलाई बंग्याएर नेकपामा अध्यक्षहरु बर्बराउन थालेको टिप्पणी गरे। १७ हजार नेपालीको लासमाथि राजनीति गरेर आएको तत्कालिन नेकपा माओवादी केन्द्रलाई नेकपामा विलय गरेका प्रचण्डले कांग्रेसको बारेमा टिप्पणी गर्नु खेदजनक भएको बताए।
‘झुटको पुलिन्दा र भ्रममको खेती गरेर नेपाली जनतालाई झुक्याउने नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले जंगलमा हिंसाको भड्खालोबाट तानेर ल्याएको हो’, केसीले भने, ‘प्रचण्ड शान्तिपूर्ण राजनीतिमा कांग्रेसको पुच्छर समाएर बैतरणी तरेका हुन्।’
उनले कांग्रेसको अवसान हुन्छ भनेर चिन्ता व्यक्त गर्न छाडेर माओवादी केन्द्रलाई नेकपामा मिलाएर अवसानमा पुर्याएको तथ्य नबिर्सन आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४