बुटवल- केही दिन सम्पर्कविहीन भएकी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वली मुख्यमन्त्री शंकर पोखरेल निवासमा नै बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकार गरेको छ। सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद वली मुख्यमन्त्री कार्यालयमा बसेको स्वीकार गरेका हुन्।
बिहीबार पत्रकार सम्मेलन गरी सांसद वली साउन १५ गतेदेखि २० गतेसम्म बन्धक भएर मुख्मयन्त्री निवासमा बसेको बताएकी थिइन्। त्यही विषयलाई खण्डन गर्न जारी गरिएको विज्ञप्तिमा प्रवक्ता चौधरीले बन्धक नभई सांसद वलीकै स्वेच्छाले निवासमा राखिएको दाबी गरेको हो।
'आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्ने र त्यहाँबाट हिँड्दा अपहरण गरी बन्दी बनाई राखेको कुरा मिडिया सामु भनेको सुन्दा आश्चर्य लागेको छ। माननीय विमला वलीलाई कसैले करकापमा पारी ल्याएको पनि होइन। साउन १५ देखि साउन १९ गतेसम्म स्वेच्छाले बस्नु भएको हो,' विज्ञप्तिमा भनिएको छ।
प्रमुख सचेतक भूमिश्वर ढकाल एमाले अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते आफू दाङ पुगेको र पत्र बुझाइसकेपछि विमलाको पारिवारिक सल्लाहअनुसार मुख्यमन्त्रीसँग भेट्ने कुरा भएको विज्ञप्तिमा दाबी गरिएको छ। सोही दिन विमला आफ्नो दिदीलगायतका आफन्तसँग मुख्यमन्त्री निवास आएको र साउन १५ गतेदेखि १९ गतेसम्म बस्दा भेटघाट कुराकानी र फोनमा धेरै जनासँग कुरा भएको प्रदेश सरकारका प्रवक्ता चौधरीको दाबी छ।