शनिबार, फागुन २३, २०८२

पखेटा फैलाउँदै भारतको वैकल्पिक शक्ति

दिल्लीमा केजरीवालले लिएको विकास तथा सुशासनको नीतिमा पञ्जाबी नागरिकले पनि समर्थन गर्दै उनको पार्टीलाई सत्ता सुम्पिएका छन्। केजरीवालको कमाल पञ्जाबमा पनि देखिन्छ कि देखिँदैन त्यो हेर्न भने केही समय कुर्नैपर्ने हुन्छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– अन्ना हजारेको सामाजिक आन्दोलनका एक सक्रिय कार्यकर्ता अरविन्द केजरीवालले सन् २०१२ मा दर्ता गरेको आम आदमी पार्टीले भारतमा आफ्नो पखेटा फिँजाइरहेको छ। राजनीतिक दल स्थापना गरेको १० वर्षमै केजरीवालले पञ्जाबमा पकड जमाएका छन् । 

National life

पञ्जाबमा आम आदमी पार्टीले अपार बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ। ११७ सिटको पञ्जाब विधानसभामा आपले ९१ सिट जितेको छ। पञ्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। 

दिल्ली नजिकैको पञ्जाब प्रान्तका जनताले केजरीवालको ‘दिल्ली मोडल’लाई रुचाएका छन्। दिल्लीमा उनले लिएको विकास तथा सुशासनको नीतिमा पञ्जाबी नागरिकले पनि समर्थन गर्दै उनको पार्टीलाई सत्ता सुम्पिएका हुन्।

पञ्जाबको चुनावमा ‘दिल्ली मोडल’ को निकै चर्चा थियो। त्यो चर्चा मतपरिणाम मार्फत विश्वासमै बदलिएको छ। लगातार दोस्रो चुनावको प्रयासपछि आपले पञ्जाबमा ऐतिहासिक जित हासिल गरेको छ। यसअघि सन् २०१७ को चुनावमै पञ्जाबमा आपको लोकप्रियता चुलिएको थियो। तर, मतपरिणाम उसको पक्षमा आएन। पहिलो प्रयासमा २० सिट ल्याएर आप प्रमुख प्रतिपक्षी दल बनेको थियो। अहिले भने केजरीवालले दिल्लीमा देखाएको इमानदारिताले पञ्जाबी जनताको मन जित्न सफल भएको छ।

दिल्लीमा लगातार ८ वर्षदेखि सफल भएको र चुनावअगाडि बोलेका बाचाहरु कार्यान्वयनमा ल्याएका कारण केजरीवालमाथि पञ्जाबको भरोसा बढेको हो। दिल्ली र पञ्जाब छिमेकी प्रान्त हुन्। दिल्लीमा धेरै पञ्जाबीहरु छन् र तिनका आफन्त पञ्जाबमा। केजरीवालले दिल्लीमा भाषण गर्दा पञ्जाबीहरुलाई पनि सम्बोधन गर्थे। परम्परागत राजनीतिक दलहरु कांग्रेस, भाजपा वा अन्य पुराना क्षेत्रीय दलहरुले अपनाउने रणनीतिभन्दा बिल्कुल फरक किसिमको राजनीति गरेका छन् केजरीवालले। आम मानिसलाई छुने व्यवहार उनको छ। छोटो अवधिमै दिल्लीपछि पञ्जाबमा सफलता हात पार्नुका पछाडि केजरीवालको त्यही साधारण व्यवहार रहेको बताइन्छ।

Laxmi sunrise bank
kumari
दिल्लीमा केजरीवालले लिएको विकास तथा सुशासनको नीतिमा पञ्जाबी नागरिकले पनि समर्थन गर्दै उनको पार्टीलाई सत्ता सुम्पिएका छन्। केजरीवालको कमाल पञ्जाबमा पनि देखिन्छ कि देखिँदैन त्यो हेर्न भने केही समय कुर्नैैपर्ने हुन्छ।

यस पटकको चुनावमा आपले भगवन्तमान सिंहलाई पञ्जाबको मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। यो निर्णय उसले आम मानिसको राय लिएर गरेको थियो। २२ लाख जनताको मतका आधारमा भगवन्तलाई आपले प्रस्तावित मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। ४८ वर्षीय भगन्वत राजनीतिमा आउनुभन्दा पहिला कमेडियन थिए। 

कांग्रेस र भाजपालाई आलोचना गर्न केजरीवालले अनेक मुद्दा उठाएका थिए। आपलाई कमजोर देखाउन कांग्रेस, भाजवा वा अन्य क्षेत्रीय राजनीतिक दलले भने कुनै इस्यु पाएनन्। विपक्षीसँग आफूविरुद्ध कुनै बलिया मुद्दा नभएपछि आपले बाजी मारेको हो। कंग्रेसका पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, कंग्रेस पञ्जाब राज्यका अध्यक्ष नवजोतसिंह सिद्दु र मुख्यमन्त्रीसमेत रहेका चरन्जित चन्नी पराजित भएका छन्। 

जितपछि पार्टी अध्यक्ष केजरीवालले पञ्जाबका जनतालाई धन्यवाद दिएका छन्। ‘पञ्जाबका जनताले गज्जब गरे। हामी सबै तपाईंहरूलाई माया गर्छौं पञ्जाब,’ उनले भने। उनले अब आपको क्रान्ति देशभर फैलिने उद्घोष गरे। वैकल्पिक शक्तिका रूपमा उदाइरहेको आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको भए पनि अरू राज्यमा फैलिन उसलाई मुस्किल भइरहेको थियो। पञ्जाबमा भएको पाएको ऐतिहासिक सफलताले आप हौसिएको छ।

केजरीवालको उदय

केजरीवालले आप स्थापना गरेको एक वर्षमै सन् २०१३ डिसेम्बरमा दिल्ली विधानसभा चुनाव भएको थियो। दिल्लीका जनताले पहिलो चुनावमै उनलाई रुचाए। तर, थोरै सिटले उनको बहुमत भने पुगेन। ७० मध्ये २८ सिट ल्याएका केजरीवाल कंग्रेसको समर्थनमा मुख्यमन्त्री भए। तर, भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा वाचा गरेको ‘जनलोकपाल विधेयक’ विधानसभामा टेबल गर्न नसकेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिए र त्यसपछि उनले तत्कालीन राज्यपाल नजीव जंगसमक्ष विधानसभा भंग गर्न सिफारिस गरे। त्यसयता आपले दिल्ली विधानसभाको दुईवटा चुनावमा दुई तिहाइभन्दा बढी मतको बहुमत ल्याइसकेको छ।

सामाजिक आन्दोलनमा सक्रिय केजरीवालले पार्टीको नामजस्तै बोलीचाली, रहनसहन र पहिरन पनि आम मानिसकै जस्तो बनाए। उनी लगातार तेस्रो पटक दिल्लीको मुख्यमन्त्री छन्। दिल्लीका सडक, विद्यालय र स्वास्थ्य पूर्वाधारमा बदलाव देखिएको छ। दिल्लीमा लगातार ८ वर्ष मुख्यमन्त्री रहेका केजरीवालमाथि अहिलेसम्म कसैले भ्रष्टाचारको आरोपसमेत लगाउन सकेको छैन। 

केजरीवाल सरकारले तल्लो तप्काका नागरिकका लागि प्रशस्तै राहतका कार्यक्रम ल्याएको छ। दिल्लीमा बिजुली, पानी निःशुल्क छ। सार्वजनिक बसमा महिलाले भाडा तिर्नु पर्दैन। निःशुल्क स्वास्थ्य परीक्षण, औषधि, सरकारी विद्यालयको आधुनिकीकरण, ज्येष्ठ नागरिकलाई बस्न–घुम्न व्यवस्थित पार्कहरुको निर्माण आदि काम भएका छन्। दिल्लीमा केजरीवालको काम देखेका छिमेकी पञ्जाबका नागरिकले पनि उनको पार्टीलाई विश्वास गरेका छन्। केजरीवालको कमाल पञ्जाबमा पनि देखिन्छ कि देखिँदैन त्यो हेर्न भने केही समय कुनैैपर्ने हुन्छ।


प्रकाशित: Mar 11, 2022| 10:08 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।