काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन किलो ३६ ग्राम सुनसहित थाइल्यान्डका दुई महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जुतामास जाक्परिन्याकुल र प्रियानुम डिचाचिवाक होक्चाइ छन् । दुवै थाई राहदानीवाहक हुन् । जुतामासको साथबाट ८० लाख ७३ हजार सात सय २८ रुपैयाँ बराबरको १६ सय ६४ ग्राम र प्रियानुमका साथबाट ९७ लाख ८१ हजार ६ सय ३२ रुपैयाँ बराबरको दुई हजार १६ ग्राम सुन बरामद भएको छ ।
दुवैबाट गरी एक करोड ७८ लाख ५५ हजार तीन सय ६० रुपैयाँ बराबरको ३६ सय ८० ग्राम सुन बरामद भएको छ ।
उनीहरूले माला दुई, बाला १०, बेल्टको बकल चार, घडीको कभर तीन, सिक्का नौ र चाबी १२ थान गरी विभिन्न सामग्रीका रूपमा भन्सार छलेर सुन भित्र्याउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरू थाई एयरको फ्लाइट नम्बर टीजी–३१९ बाट काठमाडौं उत्रिएका थिए । विशेष सुराकीका आधारमा विमानस्थलको आगमन क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी मैनालीले जनाएका छन् ।
तस्बिर : विमानस्थल प्रहरी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४