कैलाली- मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङले फाइनलमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। मनाङका लागि अन्जन विष्ट, रुपेश केसी, मोउसा अबागाना र पुजन उपरकोटीले गोल गरे। हिमालयनका पिस्टोन मुतम्बा, उलरिच सिवेले गोल गरे भने विशाल श्रेष्ठ र दिपेश पण्डिले पोस्टबाहिर प्रहार गरेका थिए।
प्रतियोगितामा हार बेहोरेपछि हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले कमब्याक गरेर पनि जित निकाल्न नसकेको बताए।
‘पेनाल्टी सम्म पुग्नु त राम्रै थियो। तर, पेनाल्टीमा गोल मिस हुनु चाहिँ नराम्रो,’ उनले भने, ‘अमृत श्रेष्ठ खेलको सुरुमै घाइते हुने पुगे। अनि गोलकिपर किशोर गिरी पनि घाइते भए। त्यो हामीलाई दुखद् कुरा भयो।’
हिमायनलको टिममा सेन्टर ब्याक खेलाडी थिएनन्। त्यसैले उसले यो प्रतियोगिताको लागि अशोक खवासलाई ल्याएको थियो। त्यस्तै, खप्तड खेल्नकै लागि सन्जोक राईलाई पनि टिममा ल्याएको थियो। अघिल्लो दिन खेललाई धेरै समय दिएकाले बुधबार खेलाडीलाई गाह्रो भएको बताएका छन्।
खेलको पहिलो हाफमा शेर्पाविरुद्ध मनाङले एक गोलको अग्रता बनायो। खेलको २८औं मिनेटमा शिशिर लेखीले पोस्टको नजिकैबाट हेडरमार्फत् गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।
त्यसअघि पनि मनाङले गोलको प्रयास गरेको थियो। १४औं मिनेटमा फरवार्ड अन्जन विष्टले मैदानको वायाँ साइडबाट ओलावालेतर्फ गरेको क्रसमा ओलावालेले पोस्टको दिशामा प्रहार गर्न सकेनन्।
त्यसको अर्को मिनेटमा निशान खड्काले गरेको शक्तिशाली प्रहार गोलकिपर किशोर गिरीले बचाएका थिए। गिरी खेलभर नै मनाङको दबाबमा रहे। २०औं मिनेटमा अन्जनले गरेको प्रहार भने पोस्टको बाहिर गरएको थियो।
खेलको ३१औं मिनेटमा शिशिरले ओलावालेलाई निकै सुन्दर क्रस उपलब्ध गराएका थिए। तर सो, अवसरमा ओलावालेले पोस्टबाहिर प्रहार गरे। ३७औं मिनेटमा मोउसा अबागानाले गरेको प्रहा पोस्टको नजिकैबाट बाहिरियो भने ३८औं मिनेटमा पाएको सानदार अवसरमा ओलावालेले गोल गर्न सकेनन्।
खेलको ७४औं मिनेटमा अन्जनले बल नियन्त्रणमा लिन नसक्दा उनको पासबाट उलरिचले बल खोसेका थिए।
हिमालयन शेर्पाका अमृत श्रेष्ठ खेलको चौथो मिनेटमै घाइते भए। उनको ठाउँमा दिवन उराउले मैदानमा स्थान लिएका थिए। पहिाले हाफमा शेर्पाले विपक्षीको पोस्टमा अवसर पाउन निकै कष्ट गर्नु पर्यो। ३०औं मिनेटमा पाएको अवसरमा पनि सन्जोक राईले प्रहार गर्न सकेनन्।
विकास मेराग्लिया, पिस्टोन मुताम्बाले अट्याकिङ थर्डमा केही राम्रा मुभ बनाए पनि गोलका अवसर सिर्जना गर्न सकेनन्।
दोस्रो हाफको ६१औं मिनेटमा किशोर गिरी र अन्जन एक अर्कासँग ठोक्किएपछि दुवै खेलाडीलाई मैदानमा लामो उपचारको अवश्यकता परेको थियो। क्यसपछि किशोरलाई अस्पताल लगिएको थियो। खेलको ८० औं मिनेटमा सुरेश कुमालले खेललाई बाराबरीमा ल्याए। गोलकिपर विशाल 'सिक्स यार्ड बक्स'बाट अघि बढिसकेको अवस्थामा कुमाले बराबरी गोल गरेका हुन्। दोस्रो हाफमा सुरुबाट बल पोसेसन राखेर सुरु गरेको शेर्पाले मनाङको दबाबमा रोकेको थियो।
खेलको तीन मिनेट बाँकी रहँदा विमल रानाले निकै सानदार प्रहार गरे पनि पोस्टको नजिकैबाट बाहिरिएको थियो। स्टपेज टाइमस्वरुप थपिएको १० मिनेटमा दुवै टिमले विजयी गोलको लागि निकै प्रहार गरे पनि गोल गर्न सकेनन्।
इन्ज्युरी समयमा विमलले गरेको गोल भने रेफ्रीले अफसाइड करार गरिदिएका छन्। ‘आजको खेलमा अमृतको एंगकल इन्ज्युरी हो। किशोरको चाहिँ उपचार भइरहेको छ,’ प्रशिक्षक राईले भने। अब हिमालयनले राजर्षी गोल्डकप र सिमरा गोल्डकप खेल्ने योजना रहेको बताएका छन्। उनले प्रतियोतिगाdf खेलाडीले फाइटिङ स्पिरिटमा खेलेर पनि हार व्यहोरेको बताएका छन्।
कपको फाइनल खेल शनिबार हुँदैछ। बिहीवार हुने फ्रेन्ड्स र बाग्मती युवा क्लबबाट विजेता भएर आउने टोलीसँग मनाङले खेल्ने भएको छ। गोल्डकपमा विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
बुधबारको खेलका थप तस्बिर