काठमाडौं- सरकार र डा गोविन्द केसीबीच बुधबारको वार्ता पनि विफल भएको छ। बुधबार दिउँसो शुरु भएको वार्ता एक घण्टाका लागि स्थगित गरिए पनि फेरी शुरु भए थियो। तर, दोस्रो चरणमा पनि कुनै टुंगोमा नपुगरै वार्ता सकिएको छ।
निर्णायक भनिएको वार्ता असफल भएपछि थप अन्यौलता सिर्जना भएको छ। डा केसी पक्षका वार्ता समितिका सदस्य ओम प्रकाश अर्यालले सरकारी पक्षले विधेयकका विषयमा कुनै निर्णय नै गर्न नसकेको बताएका छन्।
उनले भने, 'हामीले विधेयक फिर्ता लिनु पर्ने, त्यो गर्न नसके संसोधन गरिनुपर्ने माग राखेका थियौं तर सरकार भने त्यो कुनै माग सम्बोधन गर्ने पक्षमा देखिएन।' मुख्य विषयमा नै कुरो नमिलेपछि यतिकै औपचारिकता पुरा गरेर समय वर्वाद गर्नु अर्थ नभएको अर्यालले बताए।
डा केसीका मागप्रति सरकार संवेदनशील नै नभएको उनको आरोप छ।
डा केसीलाई काठमाडौं ल्याएपछि करिब ५ दिनपछि मंगलबार वार्ता शुरु भएको थियो। मंगलबार बसेको वार्तामा डा केसीले राखेका मागहरुमध्ये छ वटा विषयमा समझदारी भएको जनाइएको छ।
२६ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बनिरहेको छ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा मंगलबार औपचारिक रुपमा शुरु भएको वार्तामा निर्णायक छलफल हुन सकेन। बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
तर, चिकित्सा शिक्षा विधेयकमा के-के संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन।
नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा. केसीको टोलीले लिखित नै बुझाएको हो। त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारी वार्ता टीली गठन भएको थियो भने केसी पक्षबाट डा अभिषेक राज सिँह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा वाइपी सिँह र डा. जीवन क्षेत्री वार्तामा सहभागी थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४