काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ। प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग (एन–पीएमएलएन) ले त्यहाँको राष्ट्रियसभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो।
सदन नचलेको बेला संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। धारा ५४ अनुसार राष्ट्रियसभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन्। उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्ने छ।
विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन्। पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ। ३४२ सदस्य रहेको राष्ट्रियसभामा अविश्वास प्रस्ताव पारित हुनका लागि १७२ भोट आवश्यक पर्छ।
विपक्षी गठबन्धनले १७२ भोट जुटाएको खण्डमा इमरान खान सत्ताबाट बाहिरिनेछन्। खानको पार्टीसँग राष्ट्रियसभामा १५५ सिट मात्रै छ। उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन्।
गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए। त्यतिबेला उनले १७८ भोट पाएका थिए। विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याएपछि प्रधानमन्त्री खानले सरकार नढल्ने बरु अझ बलियो हुने प्रतिक्रिया दिएका छन्।