काठमाडौं- एक घण्टाका लागि स्थगित गरिएको सरकार र डा गोविन्द केसी पक्षबीचको वार्ता पुन: शुरु भएको छ।
यसअघि केही छलफल गर्नु पर्ने भएको भन्दै वार्ता एक घण्टाका लागि स्थगित गरिएको थियो। निर्णायक भनिएको आजको वार्तामा विवादित चिकित्सा शिक्षा विधेयकका विषयमा सरकारी पक्षले उच्च राजनीतिक नेतृत्वसँग समन्वय गर्नुपर्ने भएकोले एक घण्टाका लागि समय माग गरेको केसी पक्षका वार्ता समितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले बताएका थिए।
सरकारी पक्षले राजनीतिक नेतृत्वसँग छलफल गरेपछि फेरी वार्ता बस्ने अर्यालले जानकारी दिएका थिए। अर्यालका अनुसार विधेयकको विषयमा सरकार अझै लचिलो हुन सकेको छैन। उनले भने, 'हामीलार्इ माफिया पोष्ने विधेयक फिर्ता हुनुपर्ने माग राखेका छौं। यस विषयमा उहाँहरुले मानिरहनु भएको छैन।'
डा केसीलाई काठमाडौं ल्याएपछि करिब ५ दिन जसो वार्ता ठप्प रहेको अवस्थामा मंगलबारबाट एकाएक वार्ताको माहोल तयार भएको थियो। मंगलबार बसेको वार्तामा डा केसीले राखेका मागहरुमध्ये छ वटा विषयमा समझदारी भएको जनाइएको छ।
२६ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बनिरहेको छ। सिंहदरवार स्थित शिक्षा मन्त्राललमा जारी वार्तालाई निर्णायक बनाउने गरि दुबै पक्ष वार्तामा बसेको थियो।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा मंगलबार औपचारिक रुपमा शुरु भएको वार्तामा निर्णायक छलफल हुन सकेको छैन। बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
तर, चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन।
नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा. केसीको टोलीले लिखित नै बुझाएको छ । त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारी वार्ता टीली छ भने केसी पक्षबाट डा अभिषेक राज सिँह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा वाइपी सिँह र डा. जीवन क्षेत्री वार्तामा सहभागी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४