काठमाडौं– रुस र युक्रेनबीच आज (बुधबार) तेह्रौं दिन पनि युद्ध जारी छ। युक्रेनको राजधानी किएभमा कब्जा गर्ने रुसी सेनाको प्रयास सफल भइरहेको छैन। रुसी र युक्रेनी सेना एकआपसमा लडिरहेका छन्।
रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ। युक्रेनको राजधानी किएभबाट केही किलोमिटरको दूरीमा रुसी सेना बसेको छ र राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।
किएभ र वरपरको क्षेत्रमा आज पनि विस्फोटन भएको सुनिएको विवरणहरू प्राप्त भएका छन्। किएभमा फेरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।
मंगलबार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भने, ‘मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन्। गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ।’ पुटिन धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा तड्पिएको उनको भनाइ थियो।
उता, अमेरिकाले रुसबाट तेल तथा ग्यास आयातमा प्रतिबन्ध लगाएको छ। बेलायतले पनि चरणबद्ध रुपमा रुसमाथि प्रतिबनध लगाइने बताएको छ।
प्रत्युत्तरमा रुसले पनि पश्चिमी देशका केही उत्पादनको आयातमा प्रतिबन्ध लगाएका छन्। त्यसैगरी रुसको छिमेकी पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी एयरबेसमा आफ्नो लडाकु विमान पठाउन तयार रहेको बताएको छ।
कैयौं ठूला कम्पनीहरुले रुसमा आफ्नो कारोबार बन्द गरिसकेका छन्। भर्खरैमात्र म्याकडोनाल्ड, स्टारबक्स, युनिलिभर, कोकाकोला र पेप्सीले पनि रुसमा कारोबार बन्द गर्ने घोषणा गरेका छन्।
संयुक्त राष्ट्रसंघले रुस–युक्रेन युद्धका कारण २० लाखभन्दा बढीले युक्रेन छोडेको बताएको छ।
यसैबीच, भेनेजुएलाले रुसी तेल प्रतिस्थापनका लागि सहयोग गर्न आफ्नो तेल उत्पादन प्रतिदिन चार लाख ब्यारलले वृद्धि गर्नसक्ने बताएको छ। भेनेजुएलाको तेल च्याम्बरका प्रमुख रेनाल्डो क्विन्टेरोले बीबीसीसँग उक्त देशसँग आफ्नो उत्पादन स्तरलाई हालको दैनिक आठ लाख ब्यारलबाट बढाएर १२ लाख ब्यारल पुर्याउन सक्ने पूर्वाधार रहेको बताएका छन्। ‘त्यसले हामीलाई उत्तर अमेरिकी बजारको केही माग आपूर्ति गर्न सक्षम बनाउनेछ,’ उनले भने।
अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेका राष्ट्रपति निकोलास मडुरोको सरकारसँग भेटघाटका लागि हालै अमेरिकी अधिकारीहरूले अप्रत्याशित रूपमा उक्त देशको भ्रमण गरेको खबरमाझ उनको उक्त भनाइ आएको हो।