जनकपुरधाम- प्रदेश २ सरकारले नियुक्त गरेको राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।
बुधबार जनकपुर चुरोट कारखाना परिसरस्थित प्रदेश मुख्यालयमा आयोजित एक समारोहकाबीच राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्माले पद तथा गोपनियताको शपथ लिएका हुन्।
तीन राज्यमन्त्रीको शपथ ग्रहणसँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारले सरकार गठन भएको पाँच महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएको हो ।
मण्डलले उद्योग तथा पर्यटन, झाले भौतिक पूर्वाधार र शर्माले सामाजिक विकास राज्यमन्त्रीमा शपथ लिएका छन्। नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ दिलाएका छन्।
संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारमा फोरमले आफ्ना मन्त्रीहरु पठाइ सकेपनि आन्तरिक विवादका कारण राजपाले नाम पठाउन सकेको थिएन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४