काठमाडौं- पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार मनाङ मर्स्याङ्दी क्लबले अर्को ए डिभिजन क्लब हिमायनल शेर्पाको सामना गर्दैछ।
धनगढीको कभर्डहलमा दिउँसो चार बजे सुरु हुने खेलम जित निकाल्ने टिमले फाइनलको यात्रा गर्नेछ।
मनाङले प्रतियोगितामा धेरै रेस्टसमेत पाएको छ। उसले उद्घाटन खेलमा दिल्ली फुटबल क्लबविरुद्ध जित निकालेको थियो। दिल्लीले दोस्रो हाफमा एक गोलको अग्रता बनाए पनि मनाङले कमब्याक जित निकालेको हो।
‘हामीले बिचमा धेरै रेस्ट पाएका छौं। त्यसमा हामीले योजना पनि बनाएका छौं,’ मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भनेका छन्।
यता प्रतियोगितामा हिमालयन शेर्पाले दुई खेलमा जित निकालेर फाइनल पुगेको हो। प्रतियोगिता छ खेल सम्पन्न भइसक्दा पहिलो हाफा गोल गर्ने एकमात्र टिम पनि हिमालयन शेर्पा नै हो।
उसले पहिलो खेलमा नव जन जागृति युवा क्लबलाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा आयोजक सुदूरपश्चिम ११ लाई २-१ ले हराएको थियो।
‘हामी मनाङसँग खेल्दैछौं। पछिल्लो खेलमा हाम्रो टिमका दुई खेलाडी थिएनन। ति खेलाडी सेमिफाइनलमा आउँदैछन्। त्यो भयो भने हामीलाई सजिलो हुन्छ,’ हिमायलयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले भने।