हामीले सानैदेखि सुन्दै आएको एकादेशको कथाजस्तो लाग्छ सती प्रथा। एक शताब्दी अगाडिसम्म यही प्रथाले विधवा महिलालाई चितामा होमिन बाध्य परेको थियो। मृत श्रीमानको लाससँगै चितामा जिउँदै जल्नुपर्ने पीडालाई पवित्रता र पुण्य भनी भ्रममा पारिएको पक्कै हो।
तर, यो त पितृसत्तात्मक समाजले महिलामाथि गर्दै आएको बर्बर यातना थियो।
राजधानीमा मंगलबार ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लेखक सुजित मैनालीको 'सती : इतिहास र मिमांसा' गैरआख्यान पुस्तकमाथि बहस चल्यो। बहसमा थिए, लेखक मैनाली र पत्रकार शीला खत्री।
सतीप्रथामाथि किताब लेख्न आफ्नै पारिवारिक माहोलका कारण सम्भव भएको बताउने मैनालीले सतीप्रथाको ऐतिहासिक पाटोलाई पनि खोतले।
सती प्रथा वि.सं. १५३३ बाट सुरु भएको उपत्यकाका धार्मिक शक्तिपीठ र पादपीठका अभिलेखले देखाएका छन्। हुकु जोशीको मृत्यु भएपछि उनकी श्रीमती हेरभी सती गएको कुरा कीर्तिपुरस्थित १५८७ मा स्थापित नारायणको मूर्तिको पादपीठको अभिलेखमा पनि उल्लेख छ।
यसैगरी, मल्ल राजाहरुको मृत्युपछि धेरै रानी सती गएको अभिलेख पनि पाइन्छ। चिताको आगो सहन नसकेर भाग्ने विधुवा महिलाहरुलाई बाँसले घोचेर या बाँधेर श्रीमानको चितासँगै जलाउने परिपाटीसमेत रहेको मैनालीले उल्लेख गरे।
शाहकालमा सती प्रथालाई सत्ता र शक्तिका रूपमा स्थापित गर्न खोजिएको बताउँछन् मैनाली। शासन सत्तालाई निरन्तरता दिनका लागि सन्तानको महत्त्वपूर्ण भूमिका रहने भएकाले सती जान बाध्य पारिने गरेको लेखक मैनालीको भनाइ छ। सती जानु भनेको पुरुषको राजनीतिक शक्तिलाई एकलौटी बलियो बनाउनु पनि थियो।
मल्ल राजाहरुको मृत्युपछि धेरै रानी सती गएको अभिलेख छ। चिताको आगो सहन नसकेर भाग्ने विधुवा महिलाहरुलाई बाँसले घोचेर या बाँधेर श्रीमानको चितासँगै जलाउने परिपाटीसमेत रहेको मैनालीले उल्लेख गरे।
वि.सं. १७९९ मा नरभूपाल शाहको मृत्युपछि कान्छी रानी सुभद्रावती सती गए पनि अरु रानीहरु नगएको, पृथ्वीनारायण शाहको मृत्युमा राजेन्द्रलक्ष्मीबाहेकका रानी सती गएको, रणबहादुर शाह मारिँदा जेठी रानी राजराजेश्वरीलाई माइतीबाट ल्याएर सती पठाइएको इतिहास छ। रणबहादुरकी रानी ललितत्रिपुरासुन्दरी राज्य सञ्चालनका लागि बसेका थिइन्।
१९०३ मा जंगबहादुर राणा प्रधानमन्त्री भएपछि सती प्रथाको विरोध गरे। निरन्तरको विरोधपछि नेपालको पहिलो मुलुकी ऐन जारी गर्दै जंगबहादुर राणाले सतीप्रथालाई निरुत्साहित गर्न १६ वर्षभन्दा मुनिका विधुवा महिला र ९ वर्षभन्दा कम उमेरका सन्तानकी आमालाई सती जानबाट रोक लगाएका थिए। यसरी १९७३ बाट योगमाया न्यौपानेको अगुवाईमा धर्मराज्यको मागसहित सुरु भएको नागरिक अभियानको एउटा मागले सती प्रथा अन्त्य गर्यो। अन्ततः चन्द्रशम्शेरले १९७७ मा सती प्रथामाथि प्रतिबन्ध नै गरिदिए।
कार्यक्रममा लेखक मैनालीले किताब लेखनको अनुभव सुनाएका थिए। सती प्रथाको एतिहासिक र सामाजिक पृष्ठभूमिलाई स्पष्ट पार्दै उनले भने, 'लोककथाको आधार र केही ऐतिहासिक दस्तावेजका आधारमा किताब लेख्न सहयोग पुगेको थियो।'
नेपाली नारीवादी महिला महिला स्वतन्त्रताका नारा लगाइरहेका छन्। छाउपडी तथा बलात्कारका घटनाको विरोध गरिरहेका छन्। बर्सेनि महिला हिंसाको नारा लगाए पनि महिला स्वतन्त्र र सम्मानित हुन नसकेको तितो यथार्थ किन छ त?
के एन्ड के कलेजको आयोजनामा भएको कार्यक्रममा महिलामाथि सामाजिक सीमा घरबाटै तोकिने भएकोले परिवर्तन पनि घरबाटै सुरु गर्नुपर्ने बताउँछिन् पत्रकार शीला खत्रीले। आलु पकाउँदा 'नडढेको आलु दाजुलाई, डढेको आलु दिदीबहिनीले खाउँ है' भन्ने आफ्नै बहिनीले सुनाएको कथा सुनाउँदै उनले भनिन्, 'राम्रो कुरा दाजुभाइलाई मात्रै किन खुवाउने? छोरीचेलीलाई पनि बाँढेर खाए के हुन्थ्यो? घरबाटै हामीले महिला र पुरुषबीचको व्यवहार छुट्याउने प्रवृत्ति हटाउनु पर्छ।'
कार्यक्रममा लेखक मैनालीले किताब लेखनको अनुभव सुनाएका थिए। सती प्रथाको एतिहासिक र सामाजिक पृष्ठभूमिलाई स्पष्ट पार्दै उनले भने, 'लोककथाको आधार र केही ऐतिहासिक दस्तावेजका आधारमा किताब लेख्न सहयोग पुगेको थियो।'
पुरुषले ओगटेको स्थान नभएर समानता खोजेको बताइन् खत्रीले। पुरुषले महिलालाई डोर्याउने, महिलाको आवाज पुरुषले बोलिदिनुपर्ने, पुरुषको छत्रछायामा सुरक्षित महसुस गर्नुपर्ने जस्ता वातावरण दुवैमा बराबरी लागू भए मात्रै महिला पुरुषमा समानता आउँछ।
मैनालीको 'सती : इतिहास र मिमांसा' पुस्तक ऐतिहासिक दस्तावेज हुन सक्ने पनि बताइन् खत्रीले।
'महिलामाथि सबैभन्दा सामाजिक सीमा सिर्जना गर्ने महिला नै छन्। जस्तै, आमा तथा सासुआमा, अनुशासन र छोरी बुहारीले गर्नुपर्ने काम कर्तव्यका पाठ व्यवहारमा लादिन्छ अथवा सिकाइन्छ। यो नै महिला र पुरुषबीचको विभेद हो। यस्तो विभेद परम्परागत रुपमा हाम्रो मानसिकतामा छ। मानसिकता नै बदल्नुपर्यो। सानोसानो कुरामा हामी विभेद गर्छौं। त्यही सिकाइको रुपमा अगाडि बढ्दै गएको लाग्छ।'
अहिले पनि कतिपय महिला घरको छोरा 'फ्यामिनिस्ट' हुनुपर्छ। हाम्रो आवाज न पहिला सुनियो, न अहिले सुनियो। घरको एउटा पुरुष नै फ्यामिनिस्ट हुनुपर्छ भन्ने हो भन्ने प्रश्नमा खत्री भन्छिन्, 'महिलामाथि सबैभन्दा सिकाइ हुने आमा र सासुआमाबाट हो। लुगा महिलाले धुन्छन् र सुकाउँछन्। बुहारी पढिरहेका बेला छोराले सुकेको कपडा उठाउनु गल्ती नै गरेजस्तो देखिन्छ सासु आमाको नजरमा। बुहारी बस्ने छोरा चाहिँ कपडा उठाउने। अथवा घरको काम छोराले होइन, छोरीले मात्रै गर्ने भन्ने भयो।'
'हामीले खोजेको समानता हो', दर्शक दीर्घाबाट लेखक मैनालीलाई सुझाव पनि आयो, 'हामीलाई समानता चाहिएको हो। पुरुषको भाग खोस्ने भन्ने होइन। त्यसैले 'पुरुष सत्ता' होइन, 'पितृ सत्ता' भनिदिनु होला।'