काठमाडौं– राजस्व अनुसन्धान विभागले मदिराको चोरीपैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
साढे ४ करोड रुपैयाँबराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो।
बिइङ ह्युमनका सञ्चालक पर्साको सुगौली गाउँपालिका–२ घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने सन्तोषचन्द्र बख्रेल, पर्साकै ठोरी गाउँपालिका–५ सुवर्णपुर घर भई काठमाडौं हाँडीगाउँ बस्ने रविन पाख्रिन, सर्लाही बरथहवा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने नारायणप्रसाद घिमिरे र कागेश्वरी मनहरा–६ का सैलेश पन्तविरुद्ध मुद्दा दायर भएको हो।
चार आरोपितविरुद्ध जनही ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ विगो र सोहीबराबरको जरिवानाको मागदाबी गरिएको छ। आरोपितहरुले भन्सार छलेर ल्याएको मदिरा र ढुवानीका साधनसमेत विभागले जफत गरेको छ।