काठमाडौं– रौतहटकी लक्ष्मी श्रेष्ठ कुनैबेला स्कुटर चलाउन भनेपछि निकै डराउँथिन्। अरुले चलाएको देख्दा आफैँ पनि यसलाई चलाउन सक्छु भन्ने कहिल्यै लाग्दैन थियो उनलाई। तर, पछिल्लो एक वर्षयता उनी स्कुटर चलाउन मात्रै होइन, यसलाई दौडाएर गज्जब आम्दानी पनि गरिरहेकी छिन्।
श्रीमान् र छोरीसहित काठमाडौंस्थित सामाखुशीमा बस्दै आइरहेकी लक्ष्मीले श्रीमान्कै प्रोत्साहनमा स्कुटर सिकिन्। र, अहिले उनकै प्रोत्साहनमा पठाओ राइडर बनेकी छिन्। जो दिनहुँ आफ्नो स्कुटीपछाडि दर्जनौ सेवाग्राहीलाई चढाउँछिन् र आ–आफ्नो गन्तव्यमा पुर्याउँछिन्।
कलिलै उमेरमा प्रेम विवाह गरेकी लक्ष्मीको दश वर्षकी छोरी छिन्। कक्षा १० मा पढ्दा पढ्दै विवाह गरेकाले उनको औपचारिक शिक्षा पूरा हुन सकेन।
विवाहको दुई वर्ष नपुग्दै छोरी लिजाको जन्म भएपछि उनीमाथि आमाको जिम्मेवारी पनि थपियो। उनको स्कुटीपछाडि चढ्ने धेरै सेवाग्राहीलाई थाहा हुँदैन, बिहानै गृहिणीको जिम्मेवारी पूरा गरेपछि पार्लर पुग्ने गर्छिन्। पार्लरमा पनि नेल आर्ट उनको विज्ञता हो। अनि पार्लरबाट मिल्ने फुर्सदको समय उनको पठाओ राइडिङ हो।
‘कमलपोखरीको पार्लरमा पहिले फुल टाइम काम गर्थे,’ उनले सुनाइन्, ‘तर, पहिलो लकडाउनपछि पठाओमा पनि काम गर्न थालेँ । कमाइ पनि राम्रै हुन थाल्यो। त्यसपछि पार्लरमा अहिले पार्ट टाइममात्रै गर्छु।’
पठाओसँगको कथा
‘अरु काम गर्दागर्दै किन रोज्नुभयो त पठाओ?’ जवाफमा लक्ष्मी भन्छिन्, ‘न कसैको दबाब, न समयको तनाव। आफ्नो फुर्सद मिलाएर जतिसुकै बेला पनि काम गर्न मिल्यो। त्यसमाथि राइडिङ मेरो हब्बी नै भइसक्यो। अचेल त मन खुशी हुन्छ, स्कुटी चलाउन पाउँदा।’
लक्ष्मीले अहिले पठाओ चलाएर मासिक ३० हजारसम्म आम्दानी गरिरहेकी छिन्। ‘अरुको हुकुममा नबसी आफ्नो मनमौजी समयमा काम गरेर पनि यति कमाइ हुन्छ भने किन नगर्ने,’ यही सोचले पनि उनलाई यो काममा डोर्याएको हो।
अचेल पठाओले गर्दा काठमाडौंको बाटोहरुसँग परिचित हुन पाएकी छिन् उनी। अब गुगलमा लोकेसन नहेरिकन जुनसुकै बाटो पनि हिँड्न सक्ने भएकी छन्। ‘मान्छेको जीवनमा समय एकदमै महत्वपूर्ण हुने रहेछ, वृद्धावस्थामा चाहेर पनि धेरै गर्न सकिँदैन,’ उनलाई लाग्छ, ‘त्यसैले उमेर हुँदै, तागत र समय हुँदै सकेको काम गर्नुपर्छ।’ अचेल आफ्नो फुर्सदअनुसार दिनहुँ ३ देखि ६ घन्टासम्म पठाओ चलाउँछिन् उनी।
आत्मनिर्भर हुनुको खुसी
लक्ष्मीको आम्दानीले परिवार चलाउन धेरै सहज भएको छ अहिले। ‘घर चलाउन वा व्यक्तिगत खर्चको लागि श्रीमान्सँग पैसा माग्नुपर्दा साह्रै लाज लाग्थ्यो,’ उनी भन्छिन्, ‘तर, अहिले उहाँको भर पर्नु पर्दैन। आफैँ कमाउँछु, अनि आफ्नै पैसाले घर खर्च टार्छु। आत्मनिर्भर हुन पाउँदाको मज्जा नै बेग्लै।’
कलिलै उमेरमा प्रेम विवाह गरेकी लक्ष्मीको दश वर्षकी छोरी छिन्। कक्षा १० मा पढ्दा पढ्दै विवाह गरेकाले उनको औपचारिक शिक्षा पूरा हुन सकेन।
लक्ष्मीले देखेकी छिन्, आज पनि धेरै महिलाहरु घरको चुलोचौकामै सीमित छन्। सबैका आ–आफ्ना समस्या हुनसक्छ, तर उनलाई लाग्छ, अब घरमै बन्धक हुन बाध्य महिलाहरु घरबाट बाहिर निस्कनैपछै।
‘छोरी घर सम्हाल्न मात्रै जन्मेको होइन,’ लक्ष्मीको बोलीमा साहस झल्किन्छ, ‘आफ्नो लागि अरुले केही गर्देला वा केही नराम्रो होला भन्ने सोचेर या डराएर बस्नुहुन्न। भान्सा बाहिर पनि जिन्दगी छ र हरेक महिलालाई पनि स्वतन्त्रपूर्वक जिउने अधिकार छ। मैले गर्न सकेको छु भने अरुले नसक्ने भन्ने हुँदैन। आफ्नो क्षमता अनुसारको काम सबैले गर्नुपर्छ । यत्ति हो, हिम्मतचाहिँ गर्नैपर्छ।’
महिला राइडरको अवस्था
पुरुष पठाओ राइडरमाथि लुटपाट भएको हालसालकै घटना त सुन्नु भएको होला? यो घटनापछि अझ महिला पठाओ राइडरमाथि एउटा प्रश्न जोडले उठ्ने गर्छ– ‘डर लाग्दैन अपरिचितलाई आफुनो स्कुटी या बाइक पछाडि चढाउन?’
तर, लक्ष्मीले अहिलेसम्म त्यस्तो महसुस नगरेको बताउँछिन्। बरु आफूलाई देख्दा विशेषगरी महिला सेवाग्राहीहरु बढी खुशी हुने उनको अनुभव छ। ‘ओहो, महिला नै पर्नु भएछ भन्दै महिला यात्रुहरु बढी खुसी हुन्छन्,’ उनले सुनाइन्, ‘अनि धेरैले हामीलाई पठाओमा महिला चालक कति हुनहुन्छ भन्दै सोध्नुहुन्छ। महिला राइडरहरु धेरै भइदिए हुन्थ्यो भने महिला यात्रुहरुको चाहना सुनिन्छ।’ लक्ष्मीको अनुभवमा पठाओको सेवा लिने धेरैजसो सेवाग्राही पुरुष नै हुन्छन्।
‘सबैले राम्रै व्यवहार गर्छन् त?’ यो जिज्ञासाको जवाफमा लक्ष्मी निर्धक्क सुनिइन्। ‘धेरैजसोले राम्रै व्यवहार गर्नुहुन्छ, तर कहिलेकाहीँ खराब नियत भएका यात्रुहरु पनि पर्ने गर्छन्। जिस्केर बोल्ने, असहज हुने गरी बस्ने, डबल मिनिङ दिने शब्दहरु प्रयोग गर्ने यात्रुहरु पनि भेटेको छु।’
एकपटक एक सेवाग्राहीलाई स्कुटीबाट ओराल्नुपरेको तीतो अनुभव पनि छ उनीसँग। त्यतिबेला उनी ती सेवाग्राहीलाई माछापोखरीबाट ‘पिकअप’ गरेर पेप्सीकोला जाँदै थिइन्। यात्राका क्रममा ती पुरुषले पटकपटक उनलाई द्विअर्थी शब्दहरु प्रयोग गर्दै जिस्काउन थाले। साह्रै असहज भयो लक्ष्मीलाई। ‘त्यसपछि मैले त्यो मान्छेलाई म तपाईंलाई लान सक्दिनँ यहि झर्नुस् भनेर बसुन्धारा नपुग्दै झर्न लगाएँ। मैले थर्काएपछि सायद ऊ डरायो। अब यस्तो गर्दिनँ भन्दै तत्काल माफी माग्यो। ल ठिकै छ भनेर मैले पनि एकपल्टलाई माफी दिएँ। अनि, मात्रै उसलाई उसको गन्तव्यमा पुर्याइदिएँ।’
कतिपय पुरुष यात्रुले पठाओ बुक गर्ने क्रममा फोन सम्पर्क हुँदा नम्बर पनि सेभ गरेर राख्ने रहेछन्। अनि त्यही नम्बरमा कल गरेर पछि अनावश्यक दुःख पनि झेलेकी छिन् लक्ष्मीले। ‘धेरैलाई त दिक्क लागेर ब्लक नै गरिदिन्छु,’ उनी भन्छिन्, ‘यद्यपी मेरो अनुभवमा महिला चालकलाई दिउँसो काम गर्न सुरक्षित नै छ। अप्रत्यक्ष रुपमा नराम्रो व्यवहार भएका छन् तर डराउन परिहाल्ने स्थिति पनि छैन। मलाई देखेर धेरै मेरा साथीहरु अहिले पठाओ राइडिङको लाइसेन्स लिने तयारीमा छन्।’
लक्ष्मी पनि दिउँसोमात्रै पठाओ चलाउँछिन्, राति कुदाउने हिम्मत जुटिसकेको छैन। ‘राति काम नगर्न यात्रुले नै सुझाव दिन्छन्। हाम्रो समाजको वास्तविकता सबैलाई थाहा छँदैछ। दिनुहँजसो महिला घरमै सुरक्षित नभएको खबरहरु आउनुले पनि धेरै कुरा बताइरहेकै छ,’ उनले भनिन्।
महिला पठाओ राइडरलाई महिनावारीको समयमा भने निकै समस्या हुने गरेको लक्ष्मी बताउँछिन्। ‘यो समयमा पेट दुख्ने, रगत बग्ने, पास्ने, कमजोरी महसुस हुनेजस्ता समस्या हुने गर्छ, त्यसैले मैले चिनेका धेरैजसो महिला चालकहरु म्हिनावारी भएको ४–५ दिन घरमै हुन्छन् । तर मलाईचाहिँ त्यति धेरै गाह्रो हुँदैन, त्यसैले काममै हुन्छु,’ उनले सुनाइन्।
लक्ष्मीलाई लाग्छ, महिलालाई अघि बढाउन पारिवारिक सहयोग सबैभन्दा महत्वपूर्ण हुन्छ। आज आफू आत्मनिर्भर हुनुमा श्रीमान्को सहयोग र हौसलाको पनि धेरै योगदान देख्छिन् उनी। त्यसैले सबै पुरुषहरुसँग उनको आग्रह छ, ‘आफ्नो श्रीमती, छोरीचेली जो होस्, उसलाई अघि बढेको देख्न चाहनुहुन्छ भने घरभित्रै नरोक्नुस्, उसलाई घर बाहिर निस्कन दिनुस्, उसले संसार जित्न सक्छे।’
स्कुटरमा ह्यान्डल समाएर काठमाडौंका गल्ली गल्ली यात्रु बोक्दै गर्दा लक्ष्मी स्वयम्लाई पनि लाग्छ, ‘चुलोचौका बाहिर निस्किएर म पनि एउटा संसार जितिरहेकी छु।’