बुधबार, असार ३१, २०८३

सरकारले सडक भत्कायो, व्यापारीले जनकपुर छाडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- एक समय थियो, व्यापारका लागि जनकपुर उत्तम स्थान मानिन्थ्यो। सरकारले नगर क्षेत्रको सडक लथालिंग पारेर भत्काएपछि अहिले व्यापार चौपट भएको छ। व्यापारी भारततिर पलायन हुन थालेका छन्। 

गत असारमा मात्र लामो समयदेखि जनकपुर बस्दै आएका पाँच जना व्यापारी परिवारसहित विस्थापित भएका छन्। व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर उनीहरूले नेपाल नै छाडेका हुन्। 

व्यापारीहरूलाई ऋण उपलब्ध गराएका बैंक र स्थानीय बासिन्दा समस्यामा परेका छन्। स्थानीय व्यवसायीहरूका अनुसार एक मिठाई पसल पसले, एक कस्मेटिक डिलर, सुनचाँदी गलाउने व्यवसायी, एक हार्डवेयर सञ्चालक र फेनाइल उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले एक महिनाभित्र जनकपुर छाडिसकेका छन्। 

यो त सार्वजनिक भएको विवरण हो। अरू व्यापारीले पनि जनकपुर छाड्ने तयारी गरिरहेको अनुमान स्थानीय बासिन्दाको छ। 

पलायन भएका व्यवसायीहरू स्थानीय बजार र बैंकहरूबाट करोडौं रुपैयाँ ऋण लिएका थिए। जनही तीन करोडदेखि १२ करोडसम्म ऋण नतिरी उनीहरू पलायन भएको व्यापारीहरूले जानकारी दिए। 

पछिल्लो पटक शुरु गरिएको सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यापारीहरू ठूलो मारमा परेका छन्। जनकपुरको प्रमुख व्यापारिक केन्द्र जनक चोकदेखि जानकी मन्दिर हुँदै महावीर चोक जोड्ने सडक अहिले अस्तव्यस्त छ। एकीकृत शहरी विकास आयोजनाअन्तर्गत् बजार क्षेत्रमा सडक निर्माण थालिएको छ। 

त्यस क्रममा व्यापार सञ्चालन हुँदै आएका पसलहरू भत्काइएको छ। घरधनीहरूले मापदण्डभित्र परेका घर भत्काएको लामो समय बितिसक्दा पनि सडक निर्माण पूरा हुन सकेको छैन। सडक तयार भइसक्न अझै धेरै समय लाग्ने देखेका व्यापारीहरू अन्यत्रै सर्न थालेका हुन्। 

सडककै कारण त्यस क्षेत्रको व्यापार÷व्यवसाय करिब तीन महिनादेखि ठप्प छ। जसका कारण बैंकको ऋण तिर्न व्यवसायीलाई हम्मे परेको जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले बताए।

उनका अनुसार निर्माणमा भइरहेको ढिलाइका कारण मध्यम वर्गीय व्यापारी सबैभन्दा बढी मर्कामा परेका छन्। ‘व्यापार व्यसाय नभए पनि घरभाडा र बैंकको कर्जा बुझाउनै पर्छ,’ साहले नेपाल समयसँग भने, ‘उपमहानगरपालिका र ठेकेदारले व्यापारीहरूको पीर बुझ्न सकेका छैनन्।’
 

मुख्य बजार क्षेत्र तीन महिनादेखि अस्तव्यस्त रहँदा जनकपुरका पाँच व्यापारी भारततिर पलायन भइसकेका छन्।


दुई वर्ष मधेश आन्दोलनमा घाटा सहेका जनकपुरका व्यापारीहरूलाई अहिले झनै सकस परेको छ। व्यापारीको पीडा बुझेर छिटो सडक निर्माण सक्नुपर्ने साहले बताए। 

उनका अनुसार हालसम्म व्यवसायीले करोडौंको घाटा सहनु परेको छ। ‘पसलहरू तोडफोड भएकाले बजारभित्र गाडी आउने अवस्था छैन, पर्यटकहरूले किनमेल गर्न पाएका छैनन्,’ वरिष्ठ उपाध्यक्ष साहले भने, ‘तत्काल समस्या समाधान नगरे अवस्था विकराल हुन सक्छ।’ प्रमुख बजार क्षेत्रलाई प्राथमिकतामा राखेर निर्माणमा तीव्रता दिनुपर्नेमा उनको जोड छ।

उपमहानगरपालिकाले सडक निर्माण गर्न प्रमुख बजार क्षेत्रमा मापदण्डभित्र परेका ६ सयभन्दा बढी घर भत्काएको छ। निर्माणमा भइरहेको ढिलाइका कारण व्यापारीहरू दोहोरो–तेहेरो मारमा परेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।