काठमाडौं- पछिल्ला केही दिन यता प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसामा बनेका भिडियो सामग्रीले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चा बटुलेका छन्। ती सामग्रीको चर्चा सकारात्मक रुपमा कम र नकारात्मक रुपमा बढी भइरहेको छ।
‘मलाई शेरबहादुर देउवा मन पर्छ, किनभने…’ शीर्षकमा आएका ती भिडियोको आलोचना मात्रै भएको छैन, व्यंग्य गर्नेहरू पनि उत्तिकै छन्। कतिपयले ‘व्यक्तिपूजा’को अभ्यासका रूपमा अर्थ्याएका छन्। कतिपयले त प्रधानमन्त्री देउवालाई ‘देवत्करण’ र ‘ओली पथ’ उन्मुख गराइएको भन्दै असन्तुष्टि व्यक्त गरिहेका छन्।
प्रधानमन्त्री देउवाको सचिवालयले नै यी भिडियो सामग्री बनाउँदै आएको छ। अहिलेसम्म यो शीर्षकमा भाइबरमा 'शेरबहादुर देउवा' कम्युनिटी र 'शेरबहादुर देउवा फ्यान'को नामबाट खोलिएको ट्विटरमा तीन वटा भिडियो पोस्ट भएका छन्। भिडियोमाथि आलोचना, व्यंग्य र प्रशंसा आफ्नै ठाउँमा छन्। तर, हालसम्म सार्वजनिक गरिएका तीनै वटा भिडियोमा तथ्यलाई तोडमोड गर्ने प्रयास गरिएको छ।
प्रधानमन्त्रीका प्रशंसामा शब्द खर्चिएका/खर्चन लगाइएका ती मानिसहरूले बोलेका कुरा तथ्यसंगत देखिँदैनन्। तथ्य नै तोडमोड हुने गरी बोलिएका कुरालाई भिडियो बनाएर प्रधानमन्त्रीको सचिवालयले बाहिर ल्याएको छ। यसको सन्देश प्रधानमन्त्री नै तथ्य तोडमोड गर्न प्रश्रय गरेको भन्ने हुन्छ। सचिवालयले थाहा पाएरै बाहिर ल्याइएको हो वा थाहा नपाएर हो? तर, भिडियोले तथ्य तोडमोडको प्रयास भने गरेको छ।
देउवाको सचिवालयले एकसाता अघि पहिलो पटक 'मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने…' भिडियो सार्वजनिक गरेको थियो। उक्त भिडियोमा देउवाको गृहजिल्लाका तीर्थ शाही बोलेका छन्। ‘शेरबहादुर देउवा नेपाली कांग्रेसमा बीपीपछिका दोस्रो महान् 'प्रभाव'शाली व्यक्ति हुनुहुन्छ,’ उनले भनेका छन्, ‘बीपीले पनि झापा सम्मेलनमा शेरबहादुर देउवा विना श्रीपेचका राजकुमार हुन् भनेर अंकित गर्नु भएको थियो।’
हेर्नुहोस् भिडियो