धनगढी- ५औँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप खेल्न मध्य अफ्रिकी देश क्यामरुनको अभेनी क्लब आइतबार समयमै धनगढी पुग्ने/नपुग्नेबारे चिन्ता थियो। यात्रामा समस्या भएकाले क्लबका खेलाडी प्रतियोगितामा भाग लिन धनगढी त आइपुगे, तर अपेक्षाकृत नतिजा निकाल्न सकेनन्।
'विदेशी टिमका खेलाडी नियमित अभ्यास गरिरहेका थिएनन्। उनीहरूको टिमको कोअर्डिनेसन मिलिरहेको थिएन। हामी उनीहरूलाई जित्ने लक्ष्यका साथ नै आएका थियौँ,’ खेलमा क्यामरुनी क्लबविरुद्ध २-० को जित निकालेपछि फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले भने।
यात्रामा समस्याका बाबजुद प्रतियोगितामा सहभागी हुन पाए पनि खेलाडीको सहकार्य राम्रो बन्न सकेन। खेलअघि धेरै राम्रो प्रदर्शन हुनेमा शंका गरेका प्रशिक्षक वाम्बा र व्यवस्थापक आशिक थापा मगरले फ्रेन्ड्सलाई बराबरीमा रोकेर पेनाल्टीमा जित निकाल्ने लक्ष्य राखेका भएपनि खेल सकिँदा नतिजा उल्टो आइदियो। यद्यपि उनीहरू निराश भने देखिएनन्।
‘हामीले फ्रेन्ड्सलाई बराबरीमा रोकेर पेनाल्टीमार्फत् जित निकाल्ने सोचेका थियौँ। तर कारणबस हार्यौँ। खेल चाहिँ सोचेको भन्दा राम्रो भयो। यात्राका समस्याले थकानका बाबजुद पनि खेलाडीले खेले। यो नै ठूलो कुरा हो। म खुसी छु,’ अभेनीका व्यवस्थापक थापा मगरले भने, ‘हाम्रो टिमका खेल अगाडि भएर पनि हामीलाई गाह्रो भएको हो। हामीले हिजो मात्र खेलाडी भेला गरेका थियौँ। अझै सबै खेलाडी आइपुगेका छैनन्।’
यता फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्र खेलपछि खुसी देखिए। ‘हामीले सुरुमै विदेशी टिमको कस्तो रणनीति हुन्छ त्यसलाई रिड गरेर 'अफेन्सिभ' खेल्ने भन्ने योजना बनाएका थियौँ। मलाई पाँच मिनेटपछि उनीहरुको टिममा कम्युनिकेसन र फिटनेसमा समस्या छ भन्ने थाहा भयो। यसपछि हामी जित्छौं भन्ने भयो,’ उनले खेलको सुरुबाटै अनुहारमा आएको खुसीको बयान गरे।
खेलमा जित निकाल्ने विश्वास भएपनि फ्रेन्डसले अग्रता बनाउन दोस्रो हाफ पर्खिनु पर्यो। खेलको पहिलो हाफमा सुनौला अवसर पाएपनि गोलमा परिणत गर्नबाट चुक्यो। १८औं मिनेटमा जमोल एन्थोनी पलले रोशन राना मगरले पोस्टमा प्रहार गरेका थिए। तर, गोलकिपर मंगाले त्यसलाई बचाए।
३५औं मिनेटमा पनि राजीव लोप्चनले गोल गर्न सकेनन्। अनमार्क रहेका उनले गोलकिपर अघि बढिरहेको अवस्थामा गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरियो। त्यस्तै 'इन्ज्युरी' समयमा फ्रेन्ड्सले अर्को अवसर गुमायो।
दोस्रो हाफमामा पनि केही अवसर गुमाएको फ्रेन्ड्सले दुई गोल गर्यो। क्यामरुनी टिमविरुद्ध जित निकाल्न उसलाई ती दुई अवसर पर्याप्त रहे।
‘पहिलो हाफ त बराबरी भइहाल्यो। पाएको अवसर गुमेको थियो। अब दोस्रो हाफमा त जसरी पनि गोल गर्नु नै पर्छ। टाईब्रेकरमा गयो भने नतिजा भन्न सकिन्न। त्यसैले मैल गोलको लागि खेलाडीलाई योजनासहित जिम्मा दिएँ। त्यो फल भयो,’ मिश्रले भने।
खेलको ५३औं मिनेटमा फ्रेन्ड्सले अवसर खेर फालेन। ए डिभिजन लिगमा समेत सर्वाधिक गोलकर्ता रहेका फ्रान्कोइसले गोलकिपरविहीन पोस्टमा हेडमार्फत् गोल गरे। बचाउमा अभेनीका खेलाडीले हेडरकै प्रयास गरे पनि बल पोस्टमा छिरेको थियो। यससँगै फ्रेन्डसले दोस्रो हाफमा अग्रता बनाएको हो।