काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ-पल्सर स्पोर्टस अवार्ड २०७७’ दशक अवार्ड आगमी चैत आठ गते हुनेछ। अवार्डको खेलाडी छनोट समितिले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ।
‘यो वर्ष दशक अवार्डको रुपमा पल्सर स्पोर्टस अवार्ड २०७७ हुनेछ। कोरोना महामारीका कारण गत वर्ष नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता एकदमै न्युन रह्यो। जसका कारण उनीहरूको प्रतिभा प्रदर्शन गर्ने मञ्च साँघुरियो। यद्यपि पिपुल्स च्वाइस विधा भने यथावत् ढंग नै हुनेछ। अवार्डको सुरवाती केही संस्करणपछि नेपाली खेलाडीलाई फरक ढंगले सम्मान गर्नका लागि हामीले यो विधा राखेका हौं,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।
यस वर्षको १८ औं पल्सर स्पोर्टस अवार्ड (दशक अवार्ड) चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने आयोजकले बताएको छ। यो वर्षको अवार्डमा चार खेलाडीलाई स्पोट्स अवार्डका लागि मनोनयन गरिएको छ। मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल) एलिना महर्जन (टेबलटेनिस), कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन्। पिपुल्स च्वाइस विधाका विजेता भने खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन्।