काठमाडौं– महिला उद्यमी तथा सञ्चारकर्मी सुनिता केसी राई आइतबार धरान–१५ पुष्पलाल मार्गस्थित आफ्नै घरमा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार ४२ वर्षीया केसी घरको कोठाको पंखामा सलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
प्रारम्भिक रुपमा हेर्दा केसीले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ। माइती पक्षबाट उपस्थित भएपछि सर्जमिन मुचुल्कालगायत आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। केसीका माइती काठमाडौंमा बस्दै आएको बताइएको छ।
समाज सेवामा पनि सक्रिय केसी लागू पदार्थ प्रयोगकर्ताको उपचारका लागि धरानमा सञ्चालित आसरा सुधार केन्द्रको सदस्य तथा धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवन निर्माण समितिकी अध्यक्ष थिइन्।
केसी करिब डेढ दशकदेखि धरानको विजयपुर मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित विजयपुर एफएमको सदस्य र समाचार विभागमा कार्यरत हुँदै पछिल्लो समय क्लिक धरान मिडिया प्रालिका प्रबन्ध निर्देशक बनेकी थिइन्। उनी नेपाल पत्रकार महासंघ सुनसरीकी सदस्य पनि हुन्।
प्रहरीका अनुसार उनी केही दिनअघि स्कुटर दुर्घटनामा परेपछि घरमै आराम गरिरहेकी थिइन्। आज बिहान उनका छोराहरु विद्यालय गएका थिए भने श्रीमान् कार्यालय गएका थिए। श्रीमान् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अधिकृत छन्।
बिहान उनलाई भेट्न घर पुगेका आफन्तले ढोका नखोलेपछि श्रीमान्लाई जानकारी दिएका थिए।