काठमाडौं- पछिल्लो १० दिनमा १५ लाख युक्रेनी नागरिले देश छोडेको संयुक्त राष्ट्रसंघीय निकायले जानकारी दिएको छ। रुस-युक्रेन द्वन्द्व सुरु भएपछि पछिल्ला दश दिनमा मात्र १५ लाख भन्दा धेरै युक्रेनी नागरिकहरूले आफ्नो घर छाडेर छिमेकी देश पुगेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त फिलिपो ग्रान्डीले बताएका हुन्।
रुस-युक्रेन द्वन्द्वले शरणार्थी समस्यालाई झन् बढाएको उनको भनाइ छ। दोस्रो विश्वयुद्धपछि युक्रेनको युद्धका कारण सबैभन्दा द्रूत गतिमा शरणार्थी संकट बढेको उनको भनाइ छ।
उता युक्रेनकै उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेनको स्थिति झन् गम्भीर बन्दै गएको छ बताएकी छन्। 'आतङ्कवादी योजना'को नयाँ लहर शुरू भएको उनको भनाइ छ। युक्रेनी सहरका अस्पताल र शिशु कक्षाहरूमा गोलाबारी भएकाले समेत स्थिति झन् विकराल बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्। रुसले 'ठूलो नोक्सान' खेप्नुपरे पनि तत्काल युद्ध रोकिने अवस्था नरहेको उनको संकत छ।
संयुक्त अधिराज्य बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले युक्रेनमा जारी द्वन्द्व महिनौँ चल्न सक्ने बताएका छन्। स्काई न्युजसँगको कुराकानीमा उनले यो द्वन्द्व वर्षौँ जान सक्ने सम्भावना रहेको उल्लेख गरेका थिए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको असफलता सुनिश्चित गर्न आफूहरूको गठबन्धनले ‘रणनीतिक सहनशीलता’ प्रस्तुत गर्न सक्नुपर्ने बताएका छन्।