रुसी सेना राजधानी किभतर्फ अघि बढ्दै गर्दा अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेनस्कीलाई आग्रह गर्यो, ‘देश छोड ज्यान र राष्ट्र दुवै बचाऊ।’ २६ फेब्रुअरीको अमेरिकी आग्रहलाई ठाडै अस्वीकार गर्दै भोलोदिमरले भने, ‘मेरो देशमा युद्ध छ। मलाई भाग्न सवारी होइन, लड्न हतियार चाहिएको छ।’
त्यसयता उनले रुसी आक्रमणविरुद्ध प्रतिवादका निम्ति आफ्ना सेनाको मनोबल बढाउने काम गरिरहेका छन्। भोलोदिमरको अठोट छ, ‘युक्रेन स्वतन्त्र राष्ट्र हो। स्वाधीनता जोगाउनका निम्ति म पनि डटेर लड्छु। तर आफ्नो भूमि कुनै पनि हालतमा रुसको अधिनस्थ हुन दिन्न।’
रुसी आक्रमणको सामना गरिरहेका भोलिदिमर पुरातन राजनीतिबाट खारिएर आएका व्यक्ति होइनन्। रिल लाइफमा राष्ट्रपति बनेका उनी रियल लाइफमा पनि राष्ट्रपति बने। राजकाजमा आउनुअघि युक्रेनीका निम्ति उनी कुशल कलाकार थिए। ‘सर्भेन्ट अफ द पिपल’ सिरिजबाट ख्याति कमाएका उनी हाल रुसी आक्रमणको हिम्मतिलो प्रतिवादका कारण पनि चर्चामा छन्।
२४ फेब्रुअरीयता उनले विश्वको ध्यान खिचिरहेका छन्। सैन्य भेस्टमा प्रस्तुत हुने ४४ वर्षीय भोलिदिमरले पुटिनले गरेको आक्रमणलाई विश्व आतंकवादको संज्ञा दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई आग्रह गर्दै रुसलाई कडा प्रतिबन्ध लगाउनका निरन्तर दबाब बढाएका छन्।रुसका क्षेप्यास्त्र र आक्रमण युक्रेनका निहत्था नागरिकप्रति बढ्दै गएका छन्। भोलिदिमरले भनेका छन्, ‘मलाई थाहा छ, क्रेमलिनको हत्याको निम्ति तयार गरेको सूचीमा मेरो पनि नाम छ। तर म लगायत मेरो परिवार मुलुक छोडेर भाग्नेछैन।’
मार्च ४ मा रुसले जापोरिज्जयास्थित आणविक उर्जा केन्द्रमा गोलाबारी गर्यो। सिंगो युरोपको सुरक्षा व्यवस्थामा खलल पुर्याउन जानाजान आणविक उर्जा केन्द्रलाई रुसले निसाना बनाएको भोलिदिमरको भनाइ छ। उनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) मा आवद्ध पश्चिमा राष्ट्रहरुलाई युक्रेनको आकाशमा ‘नो फ्लाइ जोन’ घोषणा गर्न आग्रह गरिरहेका छन्।
यो घोषणा गरे तेस्रो विश्वयुद्ध हुनसक्ने भन्दै युक्रेनको आग्रहलाई नेटोले अस्वीकार गर्दै आएको छ। युक्रेन नेटो गठबन्धनमा आवद्ध भइसकेको छैन। त्यसैले युक्रेनलाई रुसी आक्रमणबाट बचाउनका निम्ति नेटोले आवश्यक पहल गरेको छैन। ‘हामी यो युद्धको हिस्सेदार होइनौँ। यो युद्धलाई युक्रेनभन्दा बाहिर जानबाट रोक्न हाम्रो जिम्मेवारी निश्चय नै हुनेछ। युक्रेनभन्दा बाहिर अघि बढे अधिक मानवीय क्षति हुनेछ,’ नेटोका सदस्य सचिव जेन्स स्टोल्टनबर्गले भनेका छन्।
यसप्रति भोलिदिमरले भनेका छन्, ‘तिमीहरुले यो आग्रहलाई किन अस्वीकार गर्दै आएका छौ म जानकार छु। यो आग्रह अस्वीकारको मतलब हो हाम्रो भूमिमा अझै बढी बम बर्सेको तिमीहरुले हेर्नेछौ। ‘नो फ्लाइ जोन घोषणा गर्न नसके पनि हामीलाई ‘फाइटर प्लेन’उपलब्ध गराउन त सक्छौ होला नि।’
उनले रुसी आक्रमणविरुद्ध प्रतिवादका निम्ति आफ्ना सेनाको मनोबल बढाउने काम गरिरहेका छन्। भोलोदिमरको अठोट छ, ‘युक्रेन स्वतन्त्र राष्ट्र हो। स्वाधीनता जोगाउनका निम्ति म पनि डटेर लड्छु। तर आफ्नो भूमि कुनै पनि हालतमा रुसको अधिनस्थ हुन दिन्न।’
भोलोदिमर सन् २०१९ मा युक्रेनको राष्ट्रपति बनेका हुन्। रुस समर्थक राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई पराजित गर्दै उनले बाजी मारेका हुन्। ‘सर्भेन्ट अफ द पिपल’ सिरिजमा उनले भ्रष्टाचार निवारण गर्ने, मस्कोसँग सम्बन्ध सुधार गर्ने अभिनय गर्थे।राष्ट्रपतिको उम्मेदवार बन्दा भोलोदिमरले यही एजेण्डालाई प्राथामिकतामा राखे। आफ्नो दलको नाम पनि उनले राष्ट्रपतिको उम्मेदवारी दिने क्रममा नै राखेका थिए ।
युद्ध कसैको निम्ति हितकर नहुने पक्षमा थिए भोलोदिमर। त्यसैले उनले आफ्नो उर्जा शान्तितर्फ नै केन्द्रित गरे। त्यसको ठीक विपरीत रुसले युक्रेनको सीमा वरपर १ लाख ९० हजार सेना परिचालन गरिसकेको थियो। अमेरिकाले रुसी हमलाको कुरा गर्दा भोलोदिमर अतिरञ्जनाको कुरा गर्थे। यो हल्लाले युक्रेनको अर्थतन्त्रलाई तहसनहस बनाएको उनी बताउँथे।
तर जब रुसको आक्रमण राजधानी किभतर्फ अघि बढ्यो, युक्रेनको प्रतिरक्षालाई बलियो बनाउन भोलोदिमर लागि परे। क्रेमलिनले उनी भागेको अफवाह चलाउँदा किभबाटै उनी त्यसलाई चिर्न र सेनाहरुको आत्मबल बढाउन भिडियो बनाउँथे। हरेक पल्ट भिडियो सार्वजनिक गर्दा उनी भन्छन्, ‘मलाई मार्नका निम्ति रुसले षड्यन्त्र गरिरहेको छ। म जीवित रहेको यो नै अन्तिम भिडियो हुनसक्छ। मेरो चिन्ता नगर, तर मेरो राष्ट्रलाई जोगाउनका निम्ति क्रुद्ध रुसलाई तह लगाऊ मेरो लागि यही ठूलो मद्दत हुनेछ।’
‘दृश्य हेरेपछि कोठामा देखिएको मौनता प्रभावशाली थियो,’ युरोपियन युनियनका वरिष्ठ अधिकारीले भने। २७ राष्ट्र सम्मिलित युनियनले त्यसपछि रुसमाथि क्रमशः प्रतिबन्ध थोपर्दै गए।
रुसविरुद्ध भोलिदिमरको अडान कसरी विकसित भयो?
सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले रुससँग असल मित्रताको प्रस्ताव अघि सारेका थिए उनले। रुस र युक्रेनबीच सन् २०१४ देखि नै खटपट थियो। यसको विन्दु, रुसले ‘ब्ल्याक सी’स्थित युक्रेनको बन्दरगाह कब्जा गरेपछि सुरु भएको हो। भोलिदिमर केही हदसम्म पुटिनसँग सम्बन्ध सुधारका निम्ति सफल पनि भएका थिए। उनले रुससँगै कैदीबन्दी साटासाट गरे र सन् २०१५ मा भएको युद्धविरामको प्रभावकारी कार्यान्वयनमा जोड दिए। युक्रेनमा विशाल सडक प्रदर्शनपछि भोलिदिमरले रुससँगको सम्बन्ध सुधारको आफ्नो बाटो मोड्नुपर्यो। भोलिदिमर रुससँग सम्बन्ध सुधारमा क्रियाशील हुँदै गर्दा पश्चिमा कूटनीतिज्ञहरुले पुटिनको जालमा नपर्न सुझाव दिन्थे।
युक्रेनलाई युरोपियन युनियन वा नेटोमा आउन नदिनका निम्ति र युक्रेनमा आफ्नो प्रभाव जमाइराख्न पुटिनले जाल फ्याँकेको उनीहरुको भनाइ हुन्थ्यो। रुसले भोलोदिमरलाई पनि पोरोसेन्को झैँ ठान्न थालिसकेको थियो। तर जब उनी नेटोसँग सम्बन्ध विस्तार गर्न थाले, त्यसपछि पुटिनले उनलाई पश्चिमा भन्न थाले। पश्चिमासँग झन् निकट बन्न थालेकाले नै पुटिन क्रुद्ध बनेको राजनीतिक विश्लेषकहरु बताउँछन्। पुटिन सोभियत संघको ३० वर्ष अघिको साख फर्काउन चाहन्छन्, यसमा युक्रेन नै बाधक बन्न लागेपछि पुटिनले युद्ध छेडेको विश्लेषकहरुको बुझाइ छ।
मार्च १ मा सम्बोधन गर्दै भोलोदिमरले युक्रेनीहरु युरोपियन युनियनको बराबर सदस्य बन्नका निम्ति लडिरहेको बताएका छन्। ‘हामीलाई युरोपियन युनियनमा आवद्ध हुन नदिनै रुसले हमला गरेको हो। स्वतन्त्र राष्ट्रको हैसियतमा सदस्य बन्ने अधिकार छ भनेर हामी लडिरहेका छौँ। प्रमाणित गर, तिमीहरु हामीसँग छौ र हामीलाई अधिनस्थ हुनबाट जोगाउनेछौँ,’ पश्चिमा राष्ट्रलाई उनले भनेका छन्।
कमेडियनबाट कसरी बने राष्ट्रपति?
भोलिदिमर सन् १९७८ जनवरी २५ मा युक्रेनको दक्षिणपूर्वी इलाकामा जन्मिएका हुन्। उनका हजुरबुवाले सोभियत संघबाट दोस्रो विश्वयुद्ध लडेका थिए। युक्रेनीहरु यहुदीहरुलाई सहजै स्वीकार्दैनन्। तर भोलिदिमर यहुदी पहिचान बोकेका व्यक्ति हुन्।
भोलोदिमर कानुनका विद्यार्थी हुन् तर उनी प्रोडक्सन कम्पनी खोलेर मनोरञ्जन सामग्री उत्पादनमा लागे। सुरुवाल खोलेर पियानो बजाउने आफ्नो प्रहसनका कारण उनले ख्याति कमाउँदै गए। सन् २००६ मा उनले डान्सिङ वीथ स्टारको उपाधि चुमे। उनले सबैको ध्यान भने ‘सर्भेन्ट अफ द पिपल’ मार्फत खिचेका हुन्। यो कार्यक्रम सन् २०१५ देखि प्रशारणमा आएको थियो।
उनले त्यसमा शिक्षकको भूमिका निर्वाह गरेका थिए। उनको त्यस अभिनय निकै भाइरल भएपछि राजनीतिक यात्रा सुरु गर्न सहज भयो। यसै ख्यातीको जगमा उनले राष्ट्रपतिको यात्रा सुनिश्चित गरे। राष्ट्रपतीय निर्वाचनमा उनले आफू रियल लाइफमा पनि ‘सर्भेन्ट अफ पिपल’ बन्ने भनेर प्रचार गरे। नतिजास्वरुप ७३ प्रतिशत मत ल्याएर विजयी बने।
– द वाल स्ट्रिट जर्नलका लागि जेम्स हुकवेले तयार पारेको सामग्रीको भावानुवाद