काठमाडौं-राष्ट्रियसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ । बुधबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना माग सम्बोधन नभएसम्मका लागि बैठक चल्न नदिने बताएपछि राष्ट्रियसभा बैठक साउन १६ गते ११ बजेसम्मका लागि स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले घोषणा गरे ।
बैठक शुरु भएर सदनको कारबाही प्रारम्भ भएपछि नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले समय मागेर आफ्ना माग राखेका थिए । बैठकमा पाण्डेले भने, ‘डाक्टर गोविन्द केसीका माग पूरा गर्नुपर्र्छ, अघिल्लो सरकारले ल्याएको अध्यादेश हुबहुँ विधेयक मार्फत ल्याउनुपर्छ, नयाँ बानेश्वरमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गरेको प्रदर्शनमा भएको प्रहरी दमनको निष्पक्ष छानविन गर्नुपर्छ ।’
उनले जुम्लास्थित कर्णाली मेडिकल कलेजमा भएको बर्बर दमनको पनि निस्पक्ष छानविन हुनुपर्ने माग गरे । ‘डिआईजी नेतृत्वमा छानबिन समिति गठन भएको सुनेको छु । तर, यो समितिले सरोकारवाल व्यक्तिहरुसँग राय र सुझाव नै नलिइ काम गरेकोले छानबिन निश्पक्ष हुनेमा आशंका छ,’ पाण्डेले भने, ‘यि मागका विषयमा सरकारको धारणा स्पष्ट नआएसम्म सदनको कारबाही अघि नबढाइयोस् ।’
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपाली चेलीहरुबारे अपमानित र आपत्तिजनक अभिव्यक्ति दिने व्यवसायी दुर्गा प्रसाईमाथि कडा कारबाही गर्न पनि सांसद पाण्डेले माग गरेका छन् ।
सांसद पाण्डेले आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरु आशनबाट उठेर सदन अवरुद्ध गरिरहँदा सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद रामनारायण बिँडारीले सदनको अवरोध कहिलेसम्म भन्दै प्रश्न गरे । ‘विपक्ष दलका माननीयहरु, नियमावलीको कुन नियम र आधारमा उभिनुभयो थाहा चाहियो,’ उनले भने, ‘अध्यक्ष ज्यू, कति वर्षसम्म सदन अवरोध गरिरहने हो ।’ उनले चाँडै सम्वादको माध्यमबाट समस्या समाधान गरी सदन सञ्चालन गराउन आग्रह गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४