काठमाडौं- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बहुमतको नाममा सरकारले दम्भ देखाएको आरोप लगाएका छन् । प्रेस युनियनले गरेको कार्यक्रममा उपसभापति निधिले भने, 'दुई तिहाई बहुमतको दम्भमा यो कम्युनिस्टको सरकारले एकदलिय अधिनायकवाद लाद्ने कोसिस गर्दैछ।'
'आस्थाका आधारमा राष्ट्रिय समाचार समितिका ५५ जनालाई हटाउने काम गरेको छ,' निधिले भने, 'न्यायलय, प्रशासन र राज्यको हरेक क्षेत्रमा हस्तक्षेप गरेर राज्य आतंक मच्चाउने काम गरेको छ ।'
डा. केसिको माग पूरा गर्न तत्कालिन पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा माथेमा आयोग गठन गरेको र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएको भन्दै निधिले केसीसँग तत्कालिन प्रधानमन्त्री कोइरालाले सहमति गर्दा केपी ओली नेतृत्वको एमाले पनि सरकार मै रहेको दाबी गरे । उनले भने, 'तत्कालिन एमालेसँग सहमति गरेर ल्याएको अध्यादेश हुबहु सदनबाट पारित गर्नुपर्छ,' निधिले भने, 'अब केसीका माग सम्बोधन गर्नुपर्छ । डा केसीको जीवन रक्षा गर्नुपर्छ ।'
कार्यक्रममा सहभागी महामन्त्री शशांक कोइरालाले पनि अहिले सरकार सञ्चार क्षेत्रमा अंकुश लगाउने गरी अघि बढेकाले सबे सञ्चारकर्मीले त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४