काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा श्री भगवती क्लबले ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले ब्वाइज युनियनलाई १–० ले हराएको हो। समय सकिन पाँच मिनेट बाँकी रहेको अवस्थामा अमित लामाले गोल गर्दै श्री भगवतीलाई जित दिलाए।
शनिबार भएका बाँसबारी क्लब र तुषाल युथ क्लब तथा वीरगन्ज युनाइटेड र नयाँबस्ती युथ क्लबबीच भएका अन्य दुई खेल भने बराबरीमा सकिएका छन्।
ब्वाइज युनियनले छैटौं मिनेटमा विनोद राईको गोलबाट अग्रता लिएको थियो तर २७ औं मिनेटमा विष्णुबहादुर सुनारले हेड गरेको बल आफ्नै पोस्टमा हानेपछि खेल बराबरीमा पुगेको थियो।
बाँसबारी र तुषालबीचको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो भने वीरगन्जले नयाँबस्तीसँग २–२ गोलको बराबरी खेलेको थियो ।
२४औं मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै वीरगन्जलाई अग्रता दिलाएपनि ४४औं मिनेटमा सुमन योङ्याले गोल गर्दै बराबरीमा ल्याएका थिए । ६४औं मिनेटमा जीवन मगरले नयाँबस्तीलाई अग्रता दिलाए पनि ८१औं मिनेटमा विवेक चौधरीले गोल गर्दै वीरगन्जलाई पहिलो अंक दिलाएका थिए ।
आइतबार बिहान ९:३० बजे पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले खुमलटार युथ क्लबसँग खेल्नेछ भने दिउँसो १२:४५ बजे श्री कुमारी क्लबले सामाजिक युथ क्लबसँग खेल्नेछ।
तेस्रो खेल दिउँसो ४ बजे रानीपोखरी कर्नर टिम र मध्यपुर युवा संघबीच हुनेछ।