धनगढी- खप्तड गोल्डकपको दोस्रो खेलमा न्यु रोड टिम र सर्लाहीको बागमती युवा क्लब प्रतिस्पर्धा गरिरहेका थिए। एकेडेमी स्तरको क्लब बागमतीसँग एनआरटीले पहिलो हाफमा निकै शान्त प्रदर्शन गर्यो। प्रशिक्षक राजुकाजी शाक्य टचलाइनमा देखिएनन्। यता बागमतीका प्रशिक्षकले भने पहिलो हाफमै रेफ्री प्रज्वल क्षेत्रीको हातबाट पहेँलो कार्ड बेहोरे। पहिलो हाफको सुरुमै गोलको प्रयास गरे पनि एनआटीले गोल गर्न सकेन। र, बीचमा केही समय त दबाब पनि बेहार्यो।
खेलको दोस्रो हाफ निकै रोमाञ्चक बन्यो। एनआरटीका स्टेफेन विनोङले लगातार दुई गोल गरेर २-० को अग्रता बनाएपछि दर्शकले मैदान छोड्न थालेका थिए। खेल बागमतीले गुमाउन लागिसकेको थियो। अट्याकमा कमजोर देखिएको र फिनिसिङमा चुकिरहेको बागमतीले अन्तिममा फिनिसिङ राम्रो गर्ला भनेर सायद दर्शकले सोचेनन्। दर्शकले जे सोचेनन् बागमतिले त्यहि गर्यो। र, निर्धारित ९० मिनेटमा २-२ को बराबरी गर्यो।
त्यसपछि पेनाल्टीमा पुगेको अवस्थामा ४-३ को जित निकालेर सेमिफाइनलमा स्थान बनाएको छ। बागमतीको जितमा पेनाल्टीबाट आयुष राना मगर, विजय घलान, इमन घलान, अनिल राना मगरले गोल गरे भने सुमन चाम्लिङ राईले बारमा प्रहार गरे। एनआरटीका साइन गुरुङ, दिपेश घले, मेसुके ओलुमेउले गोल गरे भने आन्द्रे वियाकलले बाहिर प्रहार गरे भने सञ्जिब विस्टको प्रहार गोलकिपर मनोज प्रधानले बचाए। खेलमा मनोज म्यान अफ दि म्याच बनेर १० हजार पुरस्कार पाए।
खेलपछि बागमतीका प्रशिक्षक रोजित केसीले एनआरटीसँग खेल्न पाउनु नै टिमको लागि खुसीको कुरा भएको बताएका छन्। पहिलो हाफ सकिएर प्लेयर बक्समा फर्कने क्रममा रोजितले एनआरटीका प्रशिक्षकलाई ‘गोल अलि कम हान्नु है दाई’ भनेका थिए। त्यसो भए के बागमती एनआरटीसँग डराएको थियो? प्रश्नको जवाफमा रोजितले भने, ‘होइन मैले उहाँलाई मनोवैज्ञानिक प्रभाव पार्नका लागि भनेको हो,’ उनले थपे, ‘ए डिभिजन लिगमा तेस्रो स्थानको टिमसँग खेल्न पाउँदा धेरै खुसी लागेको छ। म्याच अनुभवका लागि यो खेल्न पाउनु नै सौभाग्य हो।’
खेलको सातौं मिनेटमै मेसुके ओलुमेउले गरेका प्रहार गोलकिपरले बचाउ गरेका थिए। १६ औं मिनेटमा दर्शन गुरुङको प्रहार पोस्टको पोलमा लागेर फर्किएको थियो।
फर्किएको बललाई बागमतीले राम्रो डिफेन्स गर्न सकेन। त्यसैले, बागमतीको पोस्टनजिकै उसले दुई पटक बल लुज गर्यो। अन्तिममा दर्शनले नै गरेको प्रहार पोस्टको फ्रेममा पर्न सकेन। बागमतीको फितलो डिफेन्समा एनआटीले गुमाएको राम्रो अवसर थियो।
त्यसपछि उसले खेलको ४१ औं मिनेटमा मात्र अर्को अवसर सिर्जना गर्यो। तर एनआरटीका सन्जिव विस्टले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको फ्रेममा लागेर बाहिरियो। बागमतीका गोलकिपर मनोज पेनाल्टी बक्स छोडेर अघि बढिसकेको समयमा विस्टका प्रहार पोस्टमा छिर्न नसकेको हो।
त्यसको अर्को मिनेटमा एरिक विस्टको फ्रिक किक क्रसबारको नजिकैबाट बाहिरिएको थियो। दोस्रो हाफको ६५ औं मिनेटमा दिपेशले प्रहार गरेका फ्रि किक गोलकिपर मनोले मुश्किलले बचाए। त्यसपछि एनआरटीले दुई कर्नर प्रहारको अवसर पायो। यद्यपि कर्नरपछिका प्रयास सफल भएनन्।
‘खेल हारियो भनेपछि राम्रो भएन नै, तर मैदानले पनि गाह्रो भयो। हामीले यो मैदानमा अभ्यास पनि गरेनौँ,’ खेलपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘हामी दुई गोलले लिड गरेका थियौं। हाम्रो सानो गल्ती भयो। सिनियर खेलाडीले गल्ती गरेपछि हामीले राम्रो गर्न सकेनौँ।’
खेलको ६८ औं मिनेटमा एनआरटीले कुनै गल्ती गरेन। मेसुकेले मैदानको बायाँ कुना छेउबाट गरेको क्रसमा स्टेफेन समिर विनोङले हेडरमार्फत् पोस्टमा प्रहार गरेका थिए। यससँगै एनआरटीले एक गोलको अग्रता बनायो।
खेलको ७५ औं मिनेटमा मेसुकेकै पासमा स्टेफेनले अर्को शक्तिशाली प्रहार गरेका थिए। तर गोलकिपरले बचाए। तर एनआरटीले पेनाल्टी पायो। बागमतीका अभी लामाले एनआरटीका दिपेश घलेलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो। पेनाल्टीमा स्टेफेनले नै व्यक्तिगत दोस्रो गोल गरे। यो गोलसँगै एनआरटीले खेल आफ्नो पक्षमा पार्यो र २-० को अग्रता बनायो।
‘खेल हो, जे पनि हुनसक्छ। तर हाम्रो प्रदर्शनमा म खुसी छैन,’ उनले भने, ‘बागमतिको टिमबारे म खासै जानकार छैन। तर उनीहरुलाई कुनै दबाब थिएन। दबाब हामीलाई थियो। ए डिभिजनमा तेस्रो भएको क्लब भएकाले त्यो दबाब भएको हो। यो टिमसँग हार्यो भने मान्छेले ठूलो स्वरमा एनआटी हार्यो भन्ने हुन्छ।’
यता बागमतीले पनि एनआरटीविरुद्ध उस्तै प्रहार गर्यो। फिनिसिङ धेरै चुक्यो तर केही राम्रो प्रहार गर्यो। १५ औं मिनेटमा बागमतीका देव गुरुङ गोलको नजिकैको अवस्थाबाट पनि गोल गर्न सकेनन्। पेनाल्टी बक्सको कुनाबाट देवले प्रहार गरेको बल पोस्टतर्फ नै गएन। यससँगै बागमतीले कमजोर फिनिसिङ कायम राख्यो।
त्यस्तै, बागमतीको टिममा खेल एक्सपोजरको कमी भने प्रस्टै देखियो। उसको खेलाडीले विपक्षीको पोस्टनजिकै क्रसबाहेक अन्य पास गर्न नसक्दा पटक-पटक गोलको अवसरबाट चुक्यो। खेलको १८ औं मिनेटमा बाग्मतिका कप्तान विजय घलानले पोस्टको दायाबाट क्रस गरे पनि कुनै खेलाडीले बल भेट्टाउन सकेनन्।
खेलको २५ औं मिनेटमा प्रितम स्याङबोको क्रसलाई विजयले प्रहार गरे पनि एनआरटीका डिफेन्डरले क्लियर गरिदिए। खेलको ३१ औं मिनेटमा पनि बागमतीका प्रितमले प्रहार गरे तर गोलकिपर पुजन होनाले सहजै बचाए। ३३ औं मिनेटमा सुमन चाम्लिङको प्रहार पनि गोलकिपरको हातमा पुगेर रोकियो।
खेलको इन्ज्युरी समयमा बागमतीका अनिल राना मगर पोस्टअघि भएको अवस्थामा पनि प्रितमले उनलाई पास दिनुको सट्टा आफैं प्रहार गरे। उनको प्रहार पनि गोलकिपरभन्दा अघि बढ्न सकेन।
प्रितमको ठाउँमा ६० औं मिनेटमा मैदान पसेका विमल घिसिङले ५९ औं मिनेटमा राम्रो मुभ बनाए पनि गोल गर्न सकेनन्। तर उनले खेलको ८३ औं मिनेटमा कुनै गल्ती गरेनन्। उनले पोस्टको नजिकैबाट गरेको प्रहार गोलमा परिवर्तन भएको थियो। ६१ औैं मिनेटमा कप्तान विजयले फेरि पोस्टभन्दा धेरै टाढा प्रहार गरेका थिए।
तर, आफनो अघिल्लो गल्तीलाई सुधार गर्दै उनले पहिलो गोलको दुई मिनेट नबित्दै गोल गरे। उनले खेलको ८५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यो गोलले खेल निकै रोमाञ्चक बनेको थियो। धनगढी रंगशालामा उपस्थित आधा दर्शकले त एनआरटीले दुई गोलको अग्रता बनाएसँगै प्यारापिट छोडेर रंगशालाबाट बाहिरिसकेका थिए।
बागमतीले एक गोल फर्काएपछि घर जाने तर्खर गर्दै बसेका दर्शकलाई रोकेको थियो। तर विजयले गोल फर्काएर खेललाई बराबरी गरेपछि भने रंगशालाको माहोल नै बदलियो। बाहिरिँदै गरेका दर्शक गोलको उत्सव मनाउन थाले र रोकिएर फेरि खेलको मजा लिन थाले। खेलको निर्धारित ९० मिनेट सकियो तर नतिजा निस्किन सकेन। र, नतिजा टाइब्रेकरबाट लिइएको थियो।
‘अब यी खेलहरुको अनुभवबाट सिकेर हामी सी डिभिजन छनोट खेल्न जानेछौं। बागमती युवा क्लबले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ। र, खेलाडीले सिक्ने मौका पाइरहेका छन्,’ उनले भने, ‘पहिलो हाफमा हामीले पनि अवसर पाएको हो। तर प्रयोग भएको थिएन। पछि सफल भयौँ। तर आजको खेलमा कन्फिडेन्स लुज भएर खेलाडीहरु डराएजस्तो चाहिँ देखिएको हो।’