बुधबार, असार ३१, २०८३

'ठूला आयोजना विद्युत् प्राधिकरणको हातमा छैनन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लोडसेडिङ अन्त्य गरेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मुलुकको 'हिरो' बनेका छन् । उनीबारे नसुनेका र उनको कामको प्रशंसा नगर्ने कमै होलान् । १८ घण्टासम्म पुगेको लोडसेडिङको समस्या शून्यमा झारेर घिसिङले मुलुकलाई दिएको योगदानका कारण उनी लोकप्रिय बनेका छन् ।आगामी तीन वर्षमा मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने लक्ष्यमा काम गरिरहेका छन्, उनी । नेपालमा उत्पादित विद्युत् भारत र चीन मात्रै नभई बंगलादेशसम्म पुर्‍याउने योजना बुनेका छन् । 

बोलेरभन्दा काम गरेर देखाउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग विद्युत् आपूर्तिको विगतको अवस्था, वर्तमान, झेल्नु परेका चुनौतीहरू र भावी योजनामा केन्द्रित रहेर नेपाल समयका लागि पृथराज थेगिमले गरेको संवाद : 


लोकतन्त्रको एक मात्र उपलब्धिका रूपमा लोडसेडिङ अन्त्य कसरी सम्भव भयो ?

लोेडसेडिङ अन्त्यको विषयमा प्राविधिक, व्यवस्थापनलगायत धेरै कुरा छन् । मुख्य रूपमा आन्तरिक, प्राविधिक र 'इथिकल' पक्षमा व्यवस्थापनका कारण लोडसेडिङ अन्त्य सम्भव भएको हो ।

आन्तरिक उत्पादनका कारण तपाईंले सफलता पाउनुभएको हो कि भारतबाट आयातीत बिजुलीमा भर परिरहनुपरेको छ ?

हाम्रो आन्तरिक उत्पादन समुचित रूपमा भइरहेको छ । उत्पादन मात्रै होइन, वितरण र प्रसारणको पनि व्यवस्थापन गरिरहेका छौं । 

हामीले मुलुक तीन वर्षभित्र आत्मनिर्भर हुन्छौं भनेका छौं । हाम्रो 'जेनेरेसन'बाट आपूर्तिलाई पुग्छ । उत्पादित बिजुलीलाई कसरी व्यवस्थापन गर्ने र कसरी खपत बढाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवस्था छ । 

अहिले करिब ३३ प्रतिशत विद्युत् भारतबाट आयात भइरहेको छ । गत वर्ष पनि करिब ३० प्रतिशतभन्दा बढी भारतबाटै आयात गरेका थियौं । 

आगामी वर्षदेखि उक्त परिमाण आधा घटाउने हाम्रो लक्ष्य छ । मुलुकमा वर्षभरमा ६ हजार गिगावाट विद्युत् खपत गर्छौं । त्यसमध्ये करिब २०/२१ हजार गिगावट आयात गर्छौं । त्यो भनेको एक तिहाइ अर्थात् ३०/३२ प्रतिशत आयात गर्छौं । बाँकी हाम्रै उत्पादन खपत भइरहेको छ । 

घिसिङसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

आयोजनाहरूको निर्माण र उत्पादन शृंखला कस्तो छ ? आन्तरिक उत्पादनबाट देशभरको माग कहिलेसम्ममा पूर्ति होला ?

माथि पनि भनें, अबको तीन वर्षभित्र हाम्रै आन्तरिक उत्पादनले देशको माग धान्छ । तीन वर्षमा आयात घटाएर नील बनाउने छौं ।

अन्तरदेशीय प्रसारण लाइन निर्माणको मुद्दा कहाँ पुग्यो ? के नेपालमा  उत्पादित बिजुली चीन र बंगलादेशसम्म पुर्‍याउन सकिने सम्भावना छ ?

अहिले हाम्रो उद्देश्य अन्यत्र निर्यात गर्नेभन्दा पनि स्वदेशी उत्पादन र खपत बढाउने हो । उत्पादित बिजुली आफैं खपत गर्ने हो ।

खपत बढायौं भने त्यसको प्रतिफल बढी हुन्छ । तुलना गर्नुपर्दा हामी आफैं खपत गरे १० गुणा बढी हुन्छ, बिक्री गर्दा एक गुणा मात्रै हुन्छ ।

खपत भएर केही बाँकी रह्यो भने मात्र निर्यातका लागि भारत र  बंगलादेशसँग कुरा भइरहेको छ । त्यसबाहेकका मुलुकमा पनि निर्यात गर्न सकिन्छ । 'कनेक्टिभिटी' भएपछि क्षेत्रीय आकारमा त्यसलाई विस्तार गर्न सकिन्छ । 

जस्तो- बंगलादेश म्यानमारसँग 'कनेक्टेड' छ भने हाम्रो विद्युत् म्यानमारसम्म जान सक्छ । बिजुली भनेको जहाँ पनि जान सक्छ । तर, कहाँबाट कहाँ बिक्री गर्ने भन्ने मुख्य कुरा हो ।

हाम्रो बिजुली सीधै बंगलादेश जाने होइन । भारतमा निर्यात गरेपछि त्यहाँबाट अर्को मुलुकमा पुग्ने हो ।

हिमाल नाघेर चीनसम्म प्रसारण लाइन विस्तार सम्भव छ ? हालसम्मका छलफल र अध्ययनहरूले के भन्छन् ?

भरखरै चीनसँग 'एमओयू' भएको छ । प्रसारण लाइन चीनको ल्हासासम्म जोड्न अध्ययन गर्दैछौं । अहिले यो छलफलको क्रममा छ । अब अध्ययन अगाडि बढ्छ । अध्ययन भइसकेपछि कसरी र कहिलेसम्ममा विकास गर्ने भन्ने प्रक्रिया अगाडि बढ्छ । अध्ययन गर्नका लागि सम्झौता भइसकेको छ । 

बिजुलीको गुणस्तर कमजोर छ । यसमा सुधारका प्रयास कसरी अगाडि बढाउनुभएको छ ?

बिजुली गुणस्तरको मुद्दा हिजो पनि थियो, आज पनि छ । यसमा हामीले तीन वटा पाटोलाई हेर्नुपर्ने हुन्छ, गुणस्तर, विश्वसनीयता र सुरक्षा । अहिले लोडसेडिङ अन्त्य गर्‍यौं तर यी विषयमा केन्द्रित हुन अझै बाँकी छ ।

बत्ती जान्छ, ट्रान्समिसन लाइन ढल्छ, पोल ढल्छ, ट्रान्सफर्मर पड्किन्छ । प्रणालीगत समस्याले विश्वसनीयतामा समस्या निम्त्याउने हो । प्रणालीलाई विश्वसनीय बनाउन समय र लगानी दुवै आवश्यक हुन्छ । 

अहिले 'सिंगल लाइन' छ, 'डबल सिस्टम' छैन । प्रणालीलाई प्रभावकारी बनाउन 'मल्टिपल' ढंगबाट गुणस्तरीय आपूर्तिको व्यवस्था मिलाउनुपर्छ । 

त्यो भनेको एकातिरको लाइन काटियो भने अर्कोतिरबाट दिनु हो । अर्कोतिरको लाइन काटियो भने एकातिरबाट पुर्‍याउनु हो । 'मल्टिपल रिङ' बैंक बनाउनुपर्छ । 'हाई भोल्टेज'मा जानुपर्छ । अहिले एक सय ३२ केभीको ट्रान्समिसन लाइन छ भने चार सय केभीमा लानुपर्छ । सब-स्टेसनहरूमा सुधार गर्नुपर्छ । ट्रान्सफर्मरहरू र वितरण प्रणालीलाई 'अपग्रेड' गर्नुपर्छ ।

यी तमाम कुराहरूलाई एकैछिनमा गर्न सकिँदैन । त्यसका लागि समय चाहिन्छ । टेन्डर गर्नुपर्छ, लगानी चाहिन्छ । यी सबै कुरा अगाडि बढिरहेका छन् ।

गुणस्तर र सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । करेन्ट लागेर कर्मचारीहरूको ज्यान गइरहेको छ । काठका पोलहरू त्यत्तिकै छन् । ती पोलहरू परिवर्तन गर्नुपर्ने आवश्यकता छ । 

नांगो तारको समस्या त्यत्तिकै छ । त्यसलाई पनि परिवर्तन गरेर 'कभर कन्डक्टर' गर्नुपर्नेछ । 

यसको समाधान १/२ वर्षमा हुने होइन, निरन्तर प्रक्रियामा अगाडि बढ्ने हो । विस्तारै सुधार हुँदै जान्छ । निरन्तर अगाडि बढ्दा करिब तीन वर्षमा विद्युत् आपूर्तिमा विश्वसनीय वातावरण तयार हुनेछ । शतप्रतिशत विश्वसनीय वातावरण बनाउन भने करिब पाँच वर्ष लाग्छ ।

चुहावट नियन्त्रणमा किन सफलता हात नलागेको हो ?

चुहावट नियन्त्रण एकै पटक हुने होइन । अहिले धेरै सुधार भएको छ । विगतमा २६ प्रतिशत हुने गरेकामा अहिले घटेर २० प्रतिशतमा झरेको छ । हामीले बर्सेनि १/२ प्रतिशत चुहावट कम गर्दै लैजाने लक्ष्य राखेका छौं । तर, दुई वर्षभित्रै ६ प्रतिशत घटेको छ ।

सन् २०३० सम्ममा धेरै मुलुकले इन्धनका सवारी साधन विस्थापित गरेर विद्युतीयमा जाँदैछन् । नेपालले पनि त्यो लक्ष्य भेट्न सक्ला त ?

शतप्रतिशत भेट्न नसके पनि अधिकांश विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारले योजना बनाइसकेको छ । हामीले त्यसलाई प्रोत्साहन गर्ने हो । विद्युत् स्टेसनहरूमा प्राधिकरणले जे गर्नुपर्छ, हामी गर्छौं । सरकारले यसलाई प्रोत्साहित गर्दै अगाडि बढ्ने हो ।

अबको १० वर्षमा पूरै गर्न नसकिए पनि ५०/६० प्रतिशत मात्र विद्युतीय सवारी साधन प्रयोग गर्न सके पनि राम्रै हुन्छ ।

ठूला आयोजनाहरू किन अगाडि बढ्न नसकेका हुन् ? यसमा भूराजनीतिको प्रभाव रहेको आशंका पनि गर्ने गरिएको छ नि ?

तामाकोशीलगायत ठूला आयोजनाको निर्माण अगाडि बढिरहेको छ । र, अन्तिम चरणमा पुगेको छ ।

बुढीगण्डकी, पश्चिमसेतीलगायत आयोजनाहरू हाम्रो हातमा छैनन् । ती सरकारको हातमा रहेका आयोजनाहरू हुन् । केही योजना चिनियाँ सहयोगमा अगाडि बढिरहेका छन् । 

सरकारले अघि बढाएका योजनाहरूमा विभिन्न मुद्दा छन् । ती योजनाहरू सरकारको निर्णयमा विद्युत् प्राधिकरणलाई जिम्मा दिएको खण्डमा हामी अगाडि बढाउन सक्छौं । 

प्राधिकरणले सञ्चालन गर्ने भनेको कम्पनीको कुरा कहाँ पुग्यो ?

जुन-जुन कम्पनीहरू अगाडि बढ्नुपर्ने हो, त्यसका लागि काम भइरहेको छ । त्यसमध्ये ट्रेडिङ कम्पनीलाई विस्तारै सञ्चालनमा ल्याउँदैछौं । त्यो कम्पनी दर्ता भइसकेको छ । तत्काल सञ्चालनमा भने आउँदैन । किनकि, विद्युत् प्राधिकरणबिना ट्रेडिङ कम्पनीले 'पीपीए' गर्न सक्दैन । त्यसका लागि धेरै संयन्त्र मिलाउनुपर्ने हुन्छ ।

भारतसँग ट्रेडिङ गर्नका लागि पनि अलग्गै संयन्त्र छ । धेरै कुरा मिलाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन विस्तारै काम भइरहेको छ । 

आगामी योजनाहरू के-के छन् ?

भरपर्दो र विश्वसनीय वितरण प्रणाली, विद्युत्मा आत्मनिर्भरता तथा गुणस्तरीय र सुरक्षित बिजुली । यसलाई पूरा गर्न 'रिजर्भ मार्जिन जेनेरेसन' गर्नुपर्छ । वितरण प्रणालीलाई 'रोबस सिस्टम'मा लैजानुपर्छ । 

जसले, जति र जहिले माग्यो, त्यति नै बिजुली दिन सक्ने क्षमताको प्रणाली तयार पार्नुपर्छ । सबैले विद्युत् उपभोग गर्न सक्नेगरी वितरण गर्नुपर्छ ।

अहिले हामी विद्युत् पुगेको स्थानको लोडसेडिङको कुरा गरिरहेका छौं । नपुगेको स्थानमा पनि बिजुली पुर्‍याउनुछ । त्यो पनि सरकारको दायित्व हो । त्यसलाई हामीले प्राथमिकता दिइरहेका छौं । अझै पनि मुलुकको ३० प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । 

अहिले उद्योगहरूमा लोडसेडिङ छैन । तर, ट्रान्सफर्मर जल्नेलगायत प्राविधिक समस्याका कारण केही समयलाई विद्युत् काट्नुपर्ने अवस्था छ ।

ठूला ट्रान्सफर्मर जल्छन्, तुरुन्तै परिवर्तन गर्न 'स्पेयर' हुँदैन । अर्को ल्याएर नराखेसम्म लोड काट्नुपर्ने स्थिति छ । सप्लाईको कारणले भने काट्नु परेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।