सउल- दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना संक्रमण देखा परेको छ। त्यसपछि यहाँ कुल संक्रमितको संख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना संक्रमण भएको थियो। ओमिक्रोन भेरियन्टको संक्रमणले सउल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ।
यहाँ ५९ हजार २६९ जनामा कोरोना संक्रमण भएको थियो। ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन्। गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ।
कोरोना संक्रमणको कारण थप १८६ मृत्युको पुष्टि भएको छ। यससँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या ८ हजार ५८० पुगेको छ। कुल मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ। देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ खोप लगाएका छन्। पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन्। सिन्ह्वा