बुधबार, असार ३१, २०८३

सीआईबीका तीन अपरेसन : यौन दुराचारीदेखि भीओआईपीसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन वटा अपराधमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

कारागारमा जैविक विषादी प्रयोग गरी हत्या, यौन दुराचार र अन्तर्राष्ट्रिय कल बाइपासका घटनाका अभियुक्तलाई मंगलबार सीआईबीले सार्वजनिक गरेको हो । सीआईबी निर्देशक डीआईजी नारायणसिंह खड्काले ती घटनालाई सुक्ष्म रूपमा केलाउन थप अनुसन्धान भइरहेको जानकारी दिए । 

घटना १- जैविक विषादी प्रयोग गरी हत्या

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा २० वर्षको कैद भुक्तान गरिरहेका थिए, बर्दिया ठाकुरद्वारा-५ का भक्तबहादुर सुनार । उनले कारागारको बेथिति र अनियमितताबारे गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखे । पत्र पठाएकै दिन उनलाई जैविक विषादी मिसाइएको खाना खुवाइयो । 

तत्काल पाटन अस्पताल पुर्‍याएका सुनारको दुई दिनपछि उपचारकै क्रममा मृत्यु भयो । योजानाबद्ध रूपमा भएको रहस्यमय मृत्युबारे अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाइयो । 

अनुसन्धानका क्रममा मुख्य योजनाकार अभिषेकराज सिंह पक्राउ परे । सिंहले जैविक रसायन मिसाइएको खाना खुवाएर सुनारसहित हालसम्म तीन जनाको हत्या गरिसकेको खुलेको छ ।

सिंहका सहयोगी सप्तरी बैरवा-८ का मनोजकुमार चौरसिया र दोलखा बैतेश्वर-६ का ध्रुवकृष्ण शर्मा सीआईबीको नियन्त्रणमा छन् । चौरसिया बैंकिङ कसुरमा पाटन उच्च अदालतले पाँच वर्ष कैद र २८ करोड रुपैयाँ जरिवाना तोकेर नख्खु कारागारमा सजाय भोगिरहेका अभियुक्त हुन् । शर्मा  चोरी मुद्दामा जेल सजाय भोगिरहेका अभियुक्त हुन् । 

घटना २- फ्रान्सेली यौन दुराचारी

यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिकलाई पनि सीआईबीले पक्राउ गरेको छ । पक्राउ परेकामा क्रिस्टोफ ग्युलक्स तथा मिसेल चुपाऊ छन् । मिसेलले आफ्नो नाम डेनिस र माथ्यु पनि बताउने गरेका छन् । 

एक वर्षदेखि नेपाल आउजाउ गर्दै आएका दुवै जना काठमाडौं मनोहरामा डेरा लिएर बस्थे । स्थानीय बालकहरूलाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको खुलेको छ । प्रहरीले खोजी गर्दै गरेको सुइँको पाएर भाग्दै गर्दा दुवै गौशालाबाट पक्राउ परेका हुन् । 

डेनिस सन् २००४ मा फ्रान्समा यौनजन्य क्रियाकलापमा संलग्न भई सजाय पाइसकेका व्यक्ति हुन् । यस्तै, क्रिस्टोफले विभिन्न समयमा नेपाल आई बालबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराउँदै आएका थिए । उनीहरूविरुद्ध हालसम्म पाँच जना पीडितका अभिभावकले उजुरी दिएका छन् ।

घटना ३- कल बाइपास

सीआईबीले स्थापनादेखि नै अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी)विरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ । त्यसको पछिल्लो घटना हो, ७ साउनमा चितवनको भरतपुर र काठमाडौं चन्द्रागिरि नगरपालिकाबाट ठूलो परिमाणमा बरामद भएका भीओआईपीका सामान । 

पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा-११ का विजय गुरुङ र भरतपुर-१६ का सुनिल अधिकारी छन् । उनीहरूले भरतपुर-१० चारतले चोकस्थित नारायण पौडेलको घरबाट भीओआईपीको धन्दा सञ्चालन गर्दै आएको खुलेको छ । अभियुक्त गुरुङले चन्द्रागिरि-५ हाइभिजन कोलोनीस्थित नारायण श्रेष्ठको घरबाट पनि भीओआईपी धन्दा चलाइरहेको फेला परेको छ । 

बंगलादेशी नागरिक मिर्जा शाहिर आलम तुर्जोले ढाकामा मुख्य सर्भर सञ्चालन गरी नेपालका चितवन, बुटवल र काठमाडौंका विभिन्न स्थानमा अवैध भीओआईपी सञ्चालन गरिरहेको अनुसन्धानका क्रममा खुलेको छ । बंगलादेशी नागरिक तुर्जो ढाकास्थित टिकियो स्क्वायरनजिक बस्ने गरेको प्रहरीले पत्ता लगाएको छ । 

पक्राउ परेका गुरुङ र अधिकारीको साथबाट भीओआईपीमा प्रयोग हुने १५ सय ६१ थान सामग्रीहरू बरामद भएका छन् । नेपाल टेलिकम र एनसेलका रिचार्ज कार्डहरू, राउटर, केबल, सिम कार्ड, इन्भर्टर, मोबाइल सेटलगायत सामग्री बरामद भएको सीआईबीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।